बिहीबार, वैशाख २०, २०८१

जैविक र प्राङ्गारिक खेती गर्न सिकाउँदै नाटक

नेपालखोज २०८० असोज १९ गते १३:०२

तनहुँ । कृषिमा विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने विषयमा शिल्पीकला समूह काठमाडौंले तनहुँमा ‘सट्टापट्टा’नामक नाटक प्रदर्शन गरेको छ । व्यास नगरपालिका–११ फराकचौरमा बिहीबार साँझ देखाइएको नाटकमा जैविक खेती गरी स्वस्थ शरीर बनाउन सन्देश प्रवाह गरिएको निर्देशक घिमिरे युवराजले बताए । खाद्यका लागि कृषि अभियानको सहकार्यमा नाटकलाई असोज १४ देखि २७ गतेसम्म प्रदर्शन गरिने छ ।

धेरै फलाउने नाममा माटो र बिरुवामा प्रयोग गरिने रासायनिक मल र विषादीले माटोको उर्वराशक्ति नष्ट हुनाका साथै मानव स्वास्थ्यमा समेत क्यान्सर, बाँझोपना जस्ता रोग लाग्ने बारेमा नाटक हेरेपछि गम्भीर भएको व्यास–११ का सन्तोष गोदारले बताए। आफू पनि माटो र पर्यावरण बचाउने अभियानमा जुट्दै प्राङ्गारिक खेती गर्नुपर्नेमा जोड दिँदै आएको उनले बताए ।

‘धेरै फलाउने नाममा विषादीको अत्यधिक प्रयोगले हामीलाई नै असर गरिरहेको विषय नाटकले प्रस्ट पारेको छ’, गोदारले भने, ‘हामीले प्राङ्गारिक खेती गर्नुपर्छ भन्नेमा दुई मत छैन । हामी सबैको चेतना खुल्न आवश्यक छ ।’

नाटक हेरेपछि अधिकांश दर्शकले आफूहरुलाई विषादी र रासायनिक मलको प्रयोगका बारेमा जानकारी पाएकाले अबदेखि प्राङ्गारिक खेती अपनाउने प्रतिबद्धतासमेत व्यक्त गर्ने गरेको नाटकका निर्देशक घिमिरेले बताए।

मानव स्वास्थ्य बचाउने एकमात्र विकल्प भनेको प्राङ्गारिक र जैविक खेती प्रणाली भएको सन्देश प्रवाह गर्न पनि तनहुँमा नाटक प्रदर्शन गरिएको वरिष्ठ पूर्वपत्रकार नारायण वाग्लेले जानकारी दिए । पत्रकार वाग्ले आफूले खेत र पाखो बारी गरी करिब ३० रोपनी क्षेत्रफलमा विगत तीन वर्षदेखि जैविक खेती प्रणाली अपनाउँदै आएका छन् ।

‘मानिसले कृषिमा गर्ने विषादीको प्रयोगले आफ्नै स्वास्थमा कसरी खेलबाड गरेको छ भन्ने सन्देश नाटकको मूल मर्म हो’, पूर्वपत्रकार वाग्लले भने, ‘अब रैथाने बीउबिजनको प्रयोग र प्राङ्गारिक खेती अपनाउन सबैलाई आग्रह गर्दछु । स्वास्थ्य आफैले बचाउने हो ।’

नाटक हेरेपछि आफूले अबदेखि ‘प्याकेट बन्द’ खान्की नखाने प्रतिबद्धता व्यक्त गरेको स्थानीय बाराही माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी १५ वर्षीय राजन अधिकारीले बताए । ‘हामीले खाजाका रुपमा विद्यालयमा खाने प्याकेट बन्द खान्की त मन्दविष पो रहेछ’, नाटक हेरेपछि आफू गम्भीर भएको बताउँदै अधिकारीले भने, ‘अबदेखि प्याकेट बन्द गरिएको खानेकुरा नखाने प्रण गरेँ । बरु हामीले खाने मकै भटमास, गहुँका परिकार नै उत्तमखान्की रहेछन् ।’

गीति शैलीबाट प्रस्तुत गरिएको नाटकमा १० कलाकारले अभिनय गरेका थिए । सङ्गीता उराँव, स्मारिक फुयाल, सुशीला विश्वकर्मा, सुनिता गाहामगर, झकेन्द्र बिसी, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, ज्याक बराल, अनुप तिमल्सिना र प्रेमचन्द पाण्डेयले नाटकमा अभिनय गरेका छन् ।

नाटकमा प्रत्यक्ष सङ्गीत स्मारिका फुयाल र अनुप तिमल्सिनाले दिएका छन् । पुनम उराँवको भेषभूषा रहेको नाटकमा सामग्री निर्माण भने धनराज सुनार, जयप्रकाश ताजपुरिया र सुमित भण्डारीको रहेको छ । काठमाडौं, लमजुङ र तनहुँमा देखाइएको नाटक अब पोखरा, चितवन, रौतहट, सिन्धुली, महोत्तरी, सुनसरी, मोरङ र झापामा देखाइने शिल्पीकला समूहले जनाएको छ ।

प्रतिक्रिया