वास्तु शास्त्र अध्ययनका लागि दुई विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । वास्तु शास्त्रको अध्ययन अनुसन्धानका विषयमा नेपाल संस्कृत विश्वविद्यालय र महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय आयोवा अमेरिकाबीच सम्झौता भएको छ ।
दुवै देशका विद्वान्लाई सहभागी गराएर नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको वास्तुसम्बन्धी छ हप्ते गोष्ठी समापनका अवसरमा आज विश्वविद्यालयबीच सम्झौता भएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयका तर्फबाट वास्तु इन्जिनियरिङका डीन वीरेन्द्र खड्का र महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय आयोवा अमेरिकाका डीन जोन लिपम्यानले हस्ताक्षर गरे ।
पछिल्लो समय नेपालमा वास्तुको अध्ययन, अध्यापनमा कमी आएका बेला त्यसलाई प्रवर्द्धन गर्ने उद्देश्यले दुवै देशका विद्वानलाई सहभागी गराएर छ हप्ते कार्यक्रम आयोजना गरिएको हो ।
शान्ति र समृद्धिका लागि वास्तुसम्बन्धी ज्ञान र प्रयोग अपरिहार्य भएको उल्लेख गर्दै पूर्वीय दर्शनको वास्तुसम्बन्धी ज्ञान पश्चिमा देशमा पुगेपछि वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको र यसको उत्पत्तिस्थल नेपालमा पुनरुत्थान गर्न लागिएको छ ।
यसअघि चारवटा प्रशिक्षणात्मक वास्तुसम्बन्धी गोष्ठी नेदरल्याण्डमा सम्पन्न गरिएको थियो । नेपालमा यस किसिमको पहिलो कार्यक्रम गरिएको पनि फाउन्डेसनले जनाएको छ ।
कार्यक्रममा एसिया, युरोप, उत्तर तथा दक्षिण अमेरिका र अष्ट्रेलिया महादेशका १४ देशका २४ जना आकिेटक इन्जिनियरको सहभागिता रहेको थियो ।
वास्तुका नियम पालना गर्नुपर्नेमा जोड
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाली संस्कृतिसँग जोडिएकाले सूर्यको तापसँग सम्बन्धित वास्तुको नियम पालना गरिनुपर्नेमा जोड दिए ।
उनले वास्तुका क्षेत्रमा पूर्वीय र पश्चिमी देशका अनुभवलाई मिलान गर्न विभिन्न १४ देशका वास्तु इन्जिनियरलाई बोलाएर कार्यक्रम गरी नेपालकै गौरव वृद्धि गरेको बताए ।
ठूला भवनलगायत निर्माण गर्दा वास्तुका नियम पालना गरे सफलता पाइने उल्लेख गर्दै मन्त्री साउदले जलवायु परिवर्तनबाट आएका समस्या समाधानका लागि पनि वैदिक नियम पालनाले सहयोग गर्ने विचार राखे ।
सांसद डा. स्वर्णिम वाग्लेले वेदलाई आधार मानेर विकास भएको वास्तु शास्त्रका आधारमा भवन एवं संरचना निर्माण गर्दा सकारात्मक ऊर्जा प्राप्त हुने गरेको बताए ।
यस क्षेत्रमा लागेका पूर्व र पश्चिमा देशका विज्ञको छ हप्ते कार्यक्रमले यस क्षेत्रलाई आधुनिकरूपमा अघि बढाउन सहयोग गर्ने उनको विश्वास थियो ।
आयोजक संस्था फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले वैदिक ज्ञानका विषयमा विश्वका मुख्य छ सय विश्वविद्यालयमा वैज्ञानिक अनुसन्धान सही सावित गरेकाले नेपाललाई वैदिक बनाउन आफू राजनीति र सहकारी क्षेत्र छाडेर लागेको बताए ।
वास्तुका विषयमा पनि वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएका विषयलाई जनसमक्ष लैजान नेपालमा छ हप्ते तालिम आयोजना गरिएको उनले जानकारी गराए ।

प्रतिक्रिया