एसीसी यू–१९ प्रिमियर कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

नेपालखोज २०८० असोज २२ गते २१:१४

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद्का कार्यवहाक सदस्य सचिव प्रकाश कसारीले  टोलीको बिदाई गर्दै जितको शुभकामना दिए ।

टोलीलाई बिदाइ गर्दै क्यानका सचिव पारस खड्काले, यू–१९ टिमले गरेको प्रदर्शन सिनियर टिममा आउने महत्वपूर्ण बाटो भएकाले सबैलाई राम्रो प्रदर्शन गर्न शुभकामना दिए । ‘नेपाली क्रिकेट टिमको इतिहास हेर्ने हो भने यू–१९ मा राम्रो गर्ने खेलाडीले नेपाली क्रिकेटमा लामो समय खेल्ने इतिहास बनाउने मौका छ’ उनले भने । प्रिमियर कपको विजेता बनेमा नेपालले एसिया कप क्रिकेट खेल्न पाउने छ ।

गत फेब्रुअरीमा नेपाललाई यू–१९ विश्वकपमा छनोट गराउने खेलाडीले नै एसीसी प्रिमियर कप खेल्दै छन् । बिहीबारदेखि सुरु हुने प्रतियोगितामा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । नेपालले समूह चरणमा बहराइन, साउदी अरेबिया र इरानसँग खेल्ने छ । समूह चरणमा शीर्ष स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

प्रतिक्रिया