कमलबजार नगरपालिकामा ६ दिनदेखि चार दलको ताला, मारमा सेवाग्राही

अछाम । अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन । नगर कार्यपालिकाले हालसम्म पनि बजेट पारित हुन नसकेको र राजनीतिक दलहरूले उठाएका मागलाई सम्बोधन नगरेका भन्दै असोज १९ गते चार राजनीतिक दलले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए ।
नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र नेपाल कम्युनिस्ट पार्टी मालेले संयुक्तरूपमा ताला लगाएका हुन् । नगरपालिकामा भएको तालाबन्दीका कारण सेवाप्रवाह नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।
तालाबन्दी भएको ६ दिन बितिसक्दा पनि समस्या समाधानको प्रयास नभएकामा सर्वसाधारण आक्रोशित भएका छन् । यही असोज २६ गते नगरपालिकाले सर्वदलीय बैठक आह्वान गरेको नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए ।
अछामका सबै पालिकामा बजेट पारित भएको महिनौँ बितिसक्दा पनि कमलबजार नगर कार्यपालिकामा बजेट पास भएको छैन । कार्यपालिकामा एमालेको बहुमत छ ।

प्रतिक्रिया