दशै आयो चंगा उडाउने होइन ?

दसैँ आउन लाग्यो दशैको रौनक बिस्तारै चारै तिर छाउन थालेको छ । तर दसैँ पचास साठी वर्ष अगाडीको भन्दा धेरै भिन्न भएको छ । आजको दसैँ व्यापारीको लागी सबैभन्दा बढी व्यापार गर्ने समय, त्यसैले तिनीहरूको लागी भनेको व्यापार कति भयो भनेर हिसाब किताब गर्न मै सीमित हुने गर्दछ । वर्षभरिमा एक पटक आउने दशैलाई रमाइलो गरी मनाउने उनीहरूसँग समय नै हुँदैन । केटाकेटीहरूको लामो छुट्टी पाउने समय अचेल यो छुट्टी पनि अधिकांशको घर भित्रै सकिन्छ ।
पचास वर्ष अगाडी दशैको लागी परिवारका सबै सदस्य अनिवार्य रुपमा मूल घरमा जम्मा हुन्थे । दशै आउनु अगाडी देखी महिला सदस्यहरुको ब्यस्तता शुरु हुन्थ्यो । घर सिङ्गै सफा सुग्घर गरेर लिपपोत गर्दथे । रातोमाटो वा कमेरोले लिपपोत गरिन्थ्यो । घरमै वर्षको एक पटक च्याङ्ग्रो ढालिन्थ्यो । घरका सबै परिवार मिलेर काटकुटको काम हुन्थ्यो ।
हामी नेवा:हरुको त फूलपातीको दिनदेखी नै भात खान पाइन्नथ्यो । पूजा पछि समयवजी र त्यसको केही घण्टा पछि भोज खाइन्थ्यो । मासुका बिभिन्न परिकार हुन्थे । अरुबेला खान नपाउने तखा: ला पनि पनि दशैमा खान पाइन्थ्यो । टीकाको भोलिपल्ट सम्म च्यूरा खानु पर्दा हामी बच्चाहरु दिक्क मानिराखेका हुन्थ्यो । तर आमाको दकसले बोल्न सक्दैनथ्यौ । तर अचेलको बच्चाहरुमा कसैको पनि दकस हुदैन ।
त्यसबेला बच्चाहरुको रमाइलो अझ भिन्न हुन्थ्यो । केटाहरु मिलेर चङ्गा उडाउथे । चङ्गा उडाउनु अगाडीको तैयारी निकै हुन्थ्यो । भुतमाली ब्वयेकेगु भन्दै केटाहरु जम्मा हुन्थे । सबैभन्दा पहिले लट्टाइ बनाइन्थ्यो । त्यसपछि धागोमा मेहनत शुरु हुन्थ्यो ।
अर्काको चङ्गा चेत गर्न धागो बलियो र धारिलो बनाउनु पर्थ्यो । जसको लागी धागोमा माजा हाल्नुपर्थ्यो । जसको लागी शिशालाई धुलो बनाएर पिस्ने त्यसपछि पिठो, सरेस संग मिसाएर पकाउने र धागोमा घोतेर दल्दै सुकाउनु पर्थ्यो । यसरी माजा हालेको धागो बलियो र धारिलो हुन्थ्यो ।
यसैगरि चङ्गा बनाउने नेपाली कागजलाई साइजमा काटेर त्यसमा निगालो वा बाँस काटेर चङगा बनाउनु पर्थ्यो । पछि पछि त चङ्गा नै किन्न पाउन थाल्यो । चङ्गा उडाउँदा बाङ्गो भयो भने ग्वाँख राखेर मिलाउनु पर्थ्यो । चङ्गा चेत भए पछि आकाशमा चुँडिएको चङ्गा हेर्दै दौड्दा कति चोटपटक लाग्थ्यो ।

प्रतिक्रिया