शनिबार, असोज १९, २०८१

प्रसारण लाइन निर्माणमा सर्लाहीका स्थानीयको अवरोध

नेपालखोज २०८० असोज २७ गते १५:३६

काठमाडौं । सर्लाहीको लालबन्दी क्षेत्रका स्थानीय बासिन्दाले एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने)मा अवरोध गरेका छन् ।

करिब ४१ वर्षअघि निर्माण गरिएको प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा पाउनुपर्ने, उक्त जग्गालाई बैङ्क तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनुपर्नेलगायत माग राखी यही असोज १९ गतेदेखि स्थानीयवासीले लाइनको तार फेर्न दिएका छैनन् ।

नेपाल विद्युत् प्राधिकरणले पूर्व–पश्चिम एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता वृद्धि गरी विद्युत् प्रवाह बढाउन मकवानपुरको हेटौँडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब एक सय ३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर नयाँ तार राखी प्रसारण प्रणाली सुधार गर्न लागेको हो ।

यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ सहजै प्रवाह गर्न सकिने, ढल्केबरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि सजिलो हुने र देशभित्र खपत गरी जोगिएकोे विद्युत्लाई ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिन्छ ।

ढल्केबर सबस्टेसनबाट सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनसम्मको करिब ४० किलोमिटर लाइनमध्ये एउटा सर्किटको करिब ३६ किलोमिटर तार फेरिएको छ ।

लालबन्दी बजार क्षेत्रका स्थानीयको अवरोधका कारण करिब चार किलोमिटर क्षेत्रमा भने काम ठप्प भएको छ । अवरोधका कारण एउटा सर्किट बन्द हुँदा ढल्केबरबाट पश्चिमतर्फ र हेटौंडाबाट पूर्वतर्फ विद्युत् प्रवाह गर्न समस्या हुँदा यसले देशकै समग्र विद्युत् प्रसारण प्रणाली प्रभावित भएको छ ।

प्रतिक्रिया