पहाडी भू-भागमा वर्षाको सम्भावना, विभाग भन्छ- मनसुन बाहिरन अझै केही दिन लाग्छ

नेपालखोज २०८० असोज २८ गते ५:३७

काठमाडाैं । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ, भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

मनसुन बाहिरन अझै केही दिन लाग्ने

बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन आजदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण पर्सी सोमबारदेखि बुधबारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार रातिदेखि पश्चिम वायुको एक प्रणाली आउने भएकाले छिटफुटदेखि हल्का वर्षाको सम्भवना रहेकाले तत्काल धान नकाट्न र काटेको भएमा आइतबारसम्ममा भित्र्याइ सक्न मौसमविद् प्रतिमा मानन्धरको भनाइ छ ।

उनका अनुसार पूर्वबाट मनसुन बाहिरन अझै केही दिन लाग्ने भएकाले बुधबार पछिबाट मात्रै मौसममा सुधार हुने बताए । नेपालको पूर्वी भूभागमा मात्रै मनसुनी वायुको आंशिक प्रभाव कायम छ । सामान्यतया अक्टोबर २ तारिखमा नेपालबाट मनसुन बाहिरी सक्नुपर्ने भएपनि आज अक्टोबर १४ तारिख भइसक्दा मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिसकेको छैन । पानी नपरेका कारण वायुमा प्रदूषण र कणहरु बसेकाले दिउँसोपख आकाश खुले पनि बिहान÷बेलुका धुम्म हुने मौसमविद् गोविन्द झाको भनाइ छ ।

प्रतिक्रिया