सद्भाव रैलीको अन्तरकथा

नेपालगंजको घटनापछि अखबारहरू तथा सामाजिक संजालमा रहेको यो सर्वाधिक प्रचारित ‘फ्रेम’ हो । लुगाफाटा, पहिरनको हिसाबले बडो प्रतिकात्मक छ ।
यो तस्वीर सद्भावना रैलीको हो । प्रायसः अन्तर धार्मिक तथा सामुदायिक भीडन्तहरू पछि यस खाले सद्भाव रैलीहरू निस्कनुको इतिहास लामो छ । नेपालगंजमा मात्र हैन, सबै तिर । हिन्दू-मुसलमानको सन्दर्भमा मात्र हैन-अनेकन् सन्दर्भहरूमा। यो निस्कनै पर्छ र पो त यो सरकारबाट प्रतिरक्षित हुन्छ ।
यसका अनेकौ उदाहरणहरू छन् । पछिल्ला केही मुख्य उदाहरण दिने हो भने काठमांडूमा घटेको ऋतिक रोशन प्रकरणमा कमजोर एक समुदाय राज्यको संरक्षणमा मारिए लुटिएपछि जब मुलुकको दक्षिणी पानीढलो क्षेत्रमा प्रतिकार शुरू भयो, राजधानीमा सद्भाव रैली निस्कियो ।
मधेस आन्दोलन पूर्व नेपालगंजमा भएको दंगा अब धेरैलाई याद नहोला। अहिले हालैको दंगामा हिन्दू र मुसलमान एक अर्काको बिरोधमा अभिए। तर, तेस बेला नेपालगंजमा यी दुबै एउटै समुदाय जो राज्यपक्ष कहलिन्छ-तेसबाट घेरिएर बालिए, जलाईए। यसपछि तत्कालिन सरकारले काठमांडूबाट शांतिकामीहरूलाई ओसारेर यस्तै सद्भाव रैली निकालियो ।
आगो लगाउनेहरू, पिडकहरू रूपेडिया, नेपालगंजमोड पुगेर पाईजामा मुसलमानी कुर्ता तथा शेरवानी किनेर लगाए। ढाका टोपी त काठमांडूबाटै गएको थियो । पुलिस, सेना तथा प्रशासनको खुला संरक्षणमा जसको पसल कबल र आश्रयका रैन बसेरामा डढेलो लगाईएको थियो-तिनीहरू सरकारको संरक्षणमा अन्तरनश्लीय सद्भाव रैली हेरिरहें ।
कर्णाली क्षेत्रमा अभिजात्य समुदायका पुल्पुल्याईएका लडकाहरूले दलितकी छोरीलाई बलात्कार गर्छन। राज्य पिडक पक्षको किटानी जाहेरी लिन अस्वीकार गर्छ । ठूलो बिरोध हुन्छ, यो बिरोध जब अभिजात्यहरूको शासनका लागि चुनौति बन्दछ-रातारात सद्भाव रैली निकालिन्छ । पात्रको अनुहार तथा थर फेरिएको हुन्छ । भूगोल बदलिएको हुन्छ । जब यस्तै करतूत मधेसका सप्तरी, सिरहा जिल्लाहरूमा मधेसी नवसत्ताका पृष्ठपोषकबाट गरिन्छ-उही नाटक दोहोरिन्छ। प्रदेश सरकारले टोपीको बदला फेटा र धोतिगम्छा बाँडेको हुन्छ सद्भाव रैलीका नायकहरूलाई ।
शायद माओवादी द्वन्द कालको कुरो हो। शाही सत्ताको योजनामा कपिलबस्तु जिल्लामा शसस्त्र प्रतिकार समुह गठन गरियो । माओवादीको प्रतिकार पनि गरियो। केही माओवादीहरू मारिए। तर, तेस भन्दा भयावह प्रतिकार माओवादीहरूले गरे । माओवादीले यस प्रतिकारलाई पर्वते समुदाय र मुसलमान बीचको प्रतिकारमा समाजलाई ध्रुविकरण गराए ।
कृष्णानगर, बहादुरगंज देखि चन्द्रौटासम्ममा मुसलमानहरूको घरहरूमा आगजनी गरियो। बडो नाम चलेका मानिसहरू मारिए। स्वभावतः पुरै लुम्बिनी क्षेत्र, बाँके बर्दीया समेतमा व्यापक प्रतिकृया भयो । मुसलमानका बिरूद्धको त्यो ताण्डव पर्वते र मधेसीका बीचको द्वन्दमा रूपान्तरित भै फैलिन लाग्दा राज्य सक्रिय भयो। बजेट निकासा भयो, सबै तिर अन्तर सामुदायिक सद्भाव रैलीहरू निस्कियो। राज्य नै सकृय भएपछि किन शांति कायम न हुनु? भयो ।
टिकापुर घटना, प्रहरीहरूको हत्या तथा रेशम चौधरीको प्रकरण त सबैलाई ज्ञात नै छ। यसको चर्चा अहिले झन् बढेकै छ। एक समुदायबाट बृहद् प्रतिकार भयो। रेशमहरूको घरहरूमा आगो लगाईयो। सम्पति ध्वस्त पारियो। यी सब काम सकिएपछि अन्ततः शांतिका लागि सद्भाव रैली नै निस्कियो। लामो छ कथा व्यथा यस श्रृँखलाको ।
कतिवटा उदाहरण दिनु र कुन शासनको? केही अघिको जनकपुरको रामनवमी बेलाको, सर्लाही मलंगवाको मुर्ति सेलाउने समयको, धरानमा मन्दीरको सामुन्ने चर्च बनाएकोमा वा गाई काटेर पकाएको दृश्य सामाजिक संजालमा राखेपछि उत्पन्न तनाव पश्चातको-अनेकन् अनेकन् सद्भाव रैली अनेकन् सन्दर्भहरूमा मंचन हुने गर्दछ ।
यी सबै प्रायोजित नाटकहरूले तथ्य र यथार्थको हत्या गरेको इतिहास छ। भर्खरैको नेपालगंजको दंगाको कारण, कारक वा तथा दोषि जगजाहेर छ । भिडीओहरू संजालभर छरप्रष्ट छ । हिन्दू संघ-संगठनहरूको, मुसलमानका संघ-संगठनहरूको, राज्य-प्रशासन तथा राजनीतिक दलहरूको संलग्नता सप्रमाण जगजाहेर छ। जो कारक रहेका छन्, पिडक छन् उनै लंकादहन पछि जलेका खरानीमा पग्लेर ढिक्का भएको सुन खोज्दैछन् ।
तैपनि मेरो बिचारमा यो फ्रेम राम्रो छ । यी पहिरनले धेरै कुराहरू बताई रहेको छ । आउने दिनहरूमा धेरै कुराहरू उदांगिने नै छ ।

प्रतिक्रिया