पर्वतमा वर्षा र हावाहुरीले धानबालीमा क्षति

नेपालखोज २०८० कार्तिक १ गते १४:३७

पर्वत । मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो । केही स्थानमा धान ढलेर सोत्तर बनेको कृषकले गुनासो गरेका छन् ।

पर्वतको कुश्मा, फलेवास, विहादी, जलजला, पैँयु र मोदीका विभिन्न वडामा लगाइएको धानबालीमा हावाहुरी र असिनाले क्षति पुर्याएको छ । कतिपय ठाउँमा सामान्य असिनासमेत परेर धान झारेको कुश्मा नगरपालिका–८ चुवाका कृषक रुद्रप्रसाद शर्माले जानकारी दिए । पाक्न थालेको धान हावा र पानीले पूरै सोत्तर बनाएको उनको गुनासो छ ।

त्यसैगरी, कुश्मा वडा नं १ पाङको फाँट, वडा नंं ९ ज्ञादीको फाँट, कुर्घा र बर्राचौरको फाँटमा समेत धान पूरै ढलाएको छ । यस्तो बेलामा धान ढल्दा फल राम्रोसँग नलाग्ने कृषि प्राविधिकहरुले बताएका छन् । फल लाग्ने बेलामा धान ढल्दा राम्रोसँग नपाक्ने, गेडा पुष्ट नहुने र उत्पादनमा समेत ह्रास आउने कुश्मा नगरपालिकाका कृषि शाखाप्रमुख बलबहादुर जिटीले जानकारी दिए ।

प्रतिक्रिया