सुडान लडाइँमा चार हजार मारिए : राष्ट्रसंघ

सुडान । सुडानमा युद्ध सुरु भएको छ महिनामा झन्डै चार हजार मानिस मारिएको तथा हजारौँ घाइते भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सुडानमा जारी मानवीयता विरोधी गतिविधि तथा लडाइँका कारण लाखौँ मानिस छिमेकी राष्ट्र दक्षिण सुडान र चाडमा गएको राष्ट्रसङ्घका मानव अधिकारवादीहरूले बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) को रिपोर्टअनुसार अप्रिलदेखि अगष्ट महिनासम्मको अवधिमा अधिकांश हताहतीका घटनाहरू पश्चिम डार्फरमा त्यहाँको जातीयताका कारण लक्षित भएको राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका मुख्य प्रवत्ता स्टेफन डुजारिकले बताए । उनका अनुसार डार्फरमा २९ वटा सहर, नगर र गाउँमा लुटपाट गरिएको र ती क्षेत्रलाई ध्वस्त पारिएको छ ।
सुरुमा राजधानी खार्तुममा सुडानी सशस्त्र बल र सहयोगी फोर्सबीच लडाइँ सुरु भएसँगै देशभर फैलिएको थियो । हिंसाले हजारौँ नागरिकलाई सुडान र छिमेकी मुलुकहरूमा सुरक्षित स्थानमा भाग्न बाध्य पारेको थियो । संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले दक्षिण सुडानामा हजारौँ सर्वसाधारण आउने क्रम जारी रहेको बताएको छ । शुक्रबारसम्म तीन लाख १० हजार मानिस सीमा पार गरेर दक्षिण सुडान प्रवेश गरेका थिए र तीमध्ये अधिकांश दक्षिण सुडानी शरणार्थीहरू थिए ।
दक्षिणी सुडानमा मानवीय संयोजक मारी–हेलेन भर्नीले साताहरू बित्दै जाँदा मानिसहरू कम स्रोत र कमजोर स्वास्थ्यसहित आइरहेको बताउनुभयो । सुडानमा अवस्था अझ खराब हुँदा आउने मानिसमा कुपोषणको स्थिति पनि बढिरहेको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन र यसका साझेदारहरूले एक लाख ५० मानिसलाई उनीहरूको अन्तिम गन्तव्यमा पुग्न मद्दत गरेका छन् । सुडानबाट आएका हजारौँ बालबालिकाको जीवन बचाउन पोषणयुक्त सामग्री उपलब्ध गराउन आवश्यक रहेको मानवअधिकारवादीहरूले बताएका छन् ।








प्रतिक्रिया