बुधबार, पुष २, २०८२

द्वन्द्वपछि सुडानमा मानवीय सहायताको खाँचो दोब्बर बन्यो

नेपालखोज २०८० कार्तिक २ गते ७:०७

सुडान । सुडानी उच्च सैनिक जनरलहरूबीच भएको तनावपछि विगत छ महिनादेखि जारी द्वन्द्वमा भोकमरीमा परेका परिवारको सङ्ख्या झण्डै दोब्बर भएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।

सुडानमा हजारौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् वा भाग्न बाध्य भएका छन् भने बाँकी रहेकामध्ये आधाभन्दा बढीलाई मानवीय सहायताको खाँचो छ ।

संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य तथा बालबालिकासम्बन्धी निकायले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, “भोकमरीमा परेका परिवारको सङ्ख्या झण्डै दोब्बर भएको छ ।”

विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले भनेको छ, “सात लाख बालबालिका गम्भीर कुपोषणबाट पीडित छन् र एक लाख बालबालिकालाई गम्भीर कुपोषणका लागि जीवनरक्षक उपचारको आवश्यकता छ ।”

सहायतासम्बन्धी अन्तरराष्ट्रिय निकायहरूले द्वन्द्वका कारण स्वास्थ्य प्रणालीमा थप व्यवधान उत्पन्न हुँदा बालबालिका र जोखिममा रहेका जनसङ्ख्यामा रोकथाम गर्न सकिने मृत्युको सङ्ख्या ‘असह्य रूपमा उच्च’ हुनेछ ।

जोन्स हकिन्स युनिभर्सिटीको प्रक्षेपणलाई उद्धृत गर्दै उनीहरूले ’सन् २०२३ को अन्त्यसम्ममा खाद्य असुरक्षा र अत्यावश्यक सेवामा आएको अवरोधका कारण पाँच वर्षमुनिका कम्तीमा १० हजार बालबालिकाको मृत्यु हुन सक्ने’ चेतावनी दिएका छन् ।

बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले अमेरिकी युनिभर्सिटीको लाइभ्स सेभ्ड टुल मोडलिङलाई आर्थिक सहयोग गरेको छ ।

अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सुडानी सेनाले आफ्ना पूर्व डेपुटी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको अर्धसैनिक ‘¥यापिड सपोर्ट फोर्सेज’सँग लडिरहेको छ ।

सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङुक परियोजनाको एक अनुमानअनुसार द्वन्द्वमा हालसम्म नौ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सुडानबाट १० लाखभन्दा बढी मानिस विदेशमा शरण लिन गएका छन् ।

थप ४५ लाख आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू मानिन्छन्, जो आफ्नो घर छोडेर देशभित्रै विस्थापित अवस्थामा बसिरहेका छन् । यसको अर्थ सुडानमा अहिले ७१ लाख व्यक्ति आन्तरिकरूपमा विस्थापित छन्, जुन विश्वकै सबैभन्दा ठूलो सङ्ख्या हो ।

प्रतिक्रिया