नेपाललाई हङकङले दियो ९४ रनको सामान्य लक्ष्य

काठमाडौं । नेपालले टि२०आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङबाट ९५ रनको सामान्य लक्ष्य पाएको छ । नेपालका तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गर्दा हङकङ ९४ रनमा समेटिएको हो ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको हो । पहिलो बलमै कप्तानलाई गुमाएको हङकङ त्यसपछि लगातार विकेट खस्दा सामान्य स्कोरमा सिमित हुन पुग्यो ।
हङकङका लागि मध्यक्रमका यासिम मुर्तजाले ३६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । उनी अभिनाश बोहोराको ५० औं टि२०आई विकेट बनेका थिए ।
नेपालका लागि करण केसीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । उनलाई अभिनाश बोहोराले २ तथा सोमपाल कामी, कुशल मल्ल र श्याम ढकालले १-१ विकेट लिँदै साथ दिए ।
त्यसअघि इनिङको पहिलो बलमै करणको इनस्वींग बलमा कप्तान निजाकत बोल्ड भएका थिए । त्यसपछि तीव्र गतिका बलरले लगातार विकेट लिएपछि शीर्षक्रम धराशायी बनेको थियो ।
तेस्रो ओभरको तेस्रो बलमा अंशुमन रथ करणकै बलमा कट बिहाईन्ड भए । चौथो ओभरको अन्तिम बलमा सोमपाल कामीले २ रन जोडेका मार्टिन कोट्जीलाई बोल्ड गरे ।
प्रतिक्रिया