आँबुखैरेनीमा व्यावसायिक ‘फूलखेती’

नेपालखोज २०८० कार्तिक ३ गते ६:५९

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकामा व्यावसायिक फूलखेती थालिएको छ । यो वर्ष विदेशबाट आयात हुँदै आएकाले सयपत्री फूललाई प्रतिस्थापन गर्न फूलखेती थालिएको हो । आँबुखैरेनी-१ स्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता मावि परिसरमा गरी २६ रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको हो ।

महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न सय प्रतिशत अनुदानमा बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री प्रवर्द्धन कार्यक्रमलाई अघि बढाएको हो ।

गत साउन २० गते रोपिएका बिरुवाबाट ढकमक्क फूल फुलेपछि बजारीकरण सुरु भएको गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले जानकारी दिए । उक्त वडाका तीन स्थान गरी २६ हजार बिरुवाले उत्पादन दिन सुरु गरेको छ । फूल उत्पादन हुन थालेसँगै बजारका फूल व्यवसायीले स्थानीय उत्पादन किन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गाउँपालिका मातहत र सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रममा खादाको सट्टा फूलको माला प्रयोग गर्न समन्वय भइरहेको कृषि शाखाप्रमुखले बताए । मालाको गुणस्तर हेरी थोकमा प्रतिमाला रु. ४० देखि ६० मा बिक्री गर्ने योजना बनाइएको छ । खुद्रा मूल्य भने निर्धारण गरिएको छैन ।

अन्य ठाउँबाट ल्याइने फूल तथा मालाको तुलनामा सुपथ मूल्यमा यहाँ उत्पादित फूल बिक्री गर्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए । दुई वटा आमा समूहलाई पहिलो वर्षमा रु. ९० हजार पूर्ण रूपमा अनुदान प्रदान गरे पनि आगामी वर्षदेखि गाउँपालिकाले प्राविधिक सहयोग मात्रै गर्ने योजना रहेको छ ।

प्रतिक्रिया