केही किफायती कुरा !

हामीलाई थाहा छ, कोक, पेप्सीलगायतका पेय स्वास्थ्यका लागि फाइदाजनक छैनन् । यसैगरी मैदाले बनेका चाउचाउ, बिस्कुट, पाउरोटी, डोनट, सिन्के चाउमीन, टोस्ट, समोसा खाने चिज नै हैन । अजिनोमोटो, भेनिगर, अखाद्य तेलमा तारिएका दालमोठ, चाउचाउका टुक्रा र रातो खुर्सानीको धुलो मिसाएर बनाइने चटपटेले भुँडीमा रुस–यूक्रेन वार नै मच्चाउनसक्छ । यो सबै हामीलाई थाहा छ । थाहा भएर पनि हामी कति बाठा । खान छाडदैनौं, बरु भन्छौं, ‘खाउँ खाउँ, पेटमा केही भए भरे भिस्को एन्टासिड खाउँला ।’
मःम, चाउमीन, लेज, कुरकुरे, भुजीया, दालमोठ र पानीपुरीजस्ता फास्टफुड, जँक फुडका कारण विहान हग्न बस्दा निकै कन्नुपर्ने अनि दिसा स्वाट्ट खर्लप्पै नझरेर धेरैबेरसम्म शौचालयमै बस्नुपर्ने अवस्थाका कारण मानिसमा पायल्स र फिस्टुलाजस्ता समस्या देखा परिरहेका छन् । ग्यास्टीक, हाइपर एसीडिटीदेखि अल्सर र क्यान्सरसम्मका समस्या यस्तै खानपानका कारण भइरहेको तथ्य पनि हामीलाई थाहा छ । हामी कति बाठा । थाहा भएर पनि हामी यस्ता चिज खान्छौं र भन्छौं, ‘पेन्टाप्राजोल छँदैछ नी, एन्टासीड छँदै छ नी ।’
पार्टी प्यालेसमा भोजमा जाँदा प्लेटभरी मटन, चिकन र फिस मात्र हैन, शाकाहारीका लागि भनेर राखिएको पनिरसमेत राखेर तृष्णाको सगरमाथा नै खडा गर्छौं । सयौंका लागि तयार गरिने तेलको कुन्डमा घन्टौंसम्म परिकार तार्ने क्रममा त्यो तेल विषाक्त भइसकेको हुन्छ । यी सब कुरा पनि हामीलाई थाहा छ । हामी कति बाठा, थाहा भएर पनि हामी भोजहरुमा लोभी हुन छाडदैनौं र भुँडी फुल्लुन्जेल हसुर्छौं । अनि भन्छौं, ‘फोकटमा पाएको स्वादले खाने हो, केही परे त रानीटिडिन, ओमीप्राजोल छँदैछ नी ।’
अहिले दशैं आएको छ । खसी बोका ढल्नेछन् । हुनेखानेका घरमा रक्सी र मासुको छेलोखेलो । दिनभरी कोठामा बसेर म्यारीज जम्यो, छेउमा रक्सी र मासु । हारे पनि उत्तेजना, जिते पनि उत्तेजना । यी सबैले आखिर रक्तचाप बढाउने नै हो । हामीलाई थाहा छ, तैपनि हामी भन्छौं, ‘मैले त प्रेसरको औषधि खाइरहेको छु, केही फरक पर्दैन ।’

प्रतिक्रिया