शुक्रबार, असार १३, २०८२

सांसदसँग रासस : खर्चिलो निर्वाचन प्रणाली सुधार गर्नुपर्छ

नेपालखोज २०८० कार्तिक ५ गते १०:३०

काठमाडौं । नेपाली कांग्रेसका नेता ऐनबहादुर शाही ठकुरी कानून निर्माणसँगै आफ्नो जिल्लाका विकास निर्माण र जनताका समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराउनु सांसदको प्रमुख जिम्मेवारी भएको बताउँछन् । सांसदसँग रासस संवादमा उहाँले सङ्घीय संसद्मा आफ्नो पहिलो प्रवेश भएकाले संसदीय अभ्यासको सिकाइसँगै कानून निर्माण र जनताका समजल्दाबल्दा विषयबस्तु सदनमार्फत सम्बोधन गर्न÷ गराउन आफू क्रियाशील रहेको प्रतिक्रिया दिए ।

सांसद शाही भन्छन्, ‘जिल्लावासीले कानूनभन्दा विकास निर्माण चाहेका छन् । प्राकृतिक विपत्तिबाट र आगलागीबाट पीडितलाई सहयोग एवं पुनःस्थापना, स्वास्थ्य, शिक्षा, खानेपानी, सडक र सिँचाइ समस्यामा आवाज उठाइरहेको छु ।’ विक्रम सम्वत् २०४३ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका शाहीले सङ्घको कर्णाली काठमाडौं सम्पर्क समिति उपसभापति, २०४८मा मुगुबाट नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य हुँदै २०५९ मा नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति भएर काम गरे ।

पार्टी एकीकरणपछि २०६७ र २०७८ मा नेपाली काङ्ग्रेस मुगुका सभापति बनेका शाहीले पाँच वर्ष अध्यापन पनि गरे । प्रतिनिधिसभाले मिटर ब्याजसम्बन्धी एउटा मात्र विधेयक पारित गरेको उल्लेख गर्दै उहाँले अन्य विधेयक विचाराधीन रहेको बताए । मुलुकले सङ्घीय शासन प्रणालीलाई आत्मसात गरेपछि सबभन्दा बढी विकासनिर्माणसँग स्थानीय तह जोडिए तापनि पुरानो अभ्यास र निर्वाचनका बेला गरेको वाचाका कारण ससाना विकास र बिरामीको उपचारमा समेत सांसदले सहयोग गर्नुपर्ने बाध्यता रहेको वास्तविकता उनले सुनाए ।

वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसमा व्यापक सुधारको खाँचो औँल्याउँदै उहाँले निष्ठाको राजनीति गर्ने सामान्य परिवारको व्यक्तिलाई चुनाव लड्नु चूनौतिपूर्ण भएको बताए ।

समाजमा सबैतिर सुशासनको विषय उठिरहेको बताउँदै उनले भने, चिकित्सा र इन्जिनियरिङ मात्र होइन, अरु विषयको पढाई पनि नेपालमा निकै महँगो हुँदै गरेको बताउदै सांसद शाहीले शिक्षा सर्वसुलभ नभएको, विपन्न वर्गका विद्यार्थीले ती विषय पढ्ने कल्पना पनि गर्न नसक्ने भएकाले यस क्षेत्रमा तत्काल सुधार हुनुपर्ने बताए । आन्दोलन नगरी कुनै माग सुनुवाइ नहुने स्थिति आउनु विडम्बना भएको टिप्पणी गरे ।

प्रतिक्रिया