शनिबार, वैशाख २२, २०८१

गिद्धे अर्थात पापांकुशा एकादशी आज

सुनील उलक २०८० कार्तिक ८ गते ७:५९

नाम नै गिद्धसँग गाँसेर राखिए पछि एकादशी भए तापनि मासु् खान सकिने भन्ने सहजै बुझ्न सकिन्छ । तर यो नाम भने पछि राखिएको हो । खास नाम भने पापांकुशा एकादशी हो । वैष्णव धर्मालम्वीहरुका लागि यस दिन बसिने ब्रत सबैभन्दा ठूलो ब्रतका रुपमा लिने गर्दछन् । यस दिन गरिने ब्रतले जानी नजानी गरिएका पापहरुमा अंकुश लगाएर मुक्त गरिदिने हुँदा यस दिनलाई पापांकुशा एकादशी भनिएको हो । चन्द्रमास अनुसार १२ महिनामा २४ एकादशी पर्छ ।

जसका नामहरु यस प्रकारका छन् । बैशाखका वरूथिनी र मोहिनी, जेठका अपरा र निर्जला, असारका योगिनी र देवशयनी, साउनका कामिका र पुत्रदा, भदौका अजा र परिवर्तिनी, असोजका इंदिरा र पापांकुशा, कार्तिकका रमा र देव प्रबोधिनी, मंसिरका उत्पन्ना र मोक्षदा, पुसका सफला र पुत्रदा, माघका षटतिला र जया, फागुनका विजया र आमलकी र चैतका पापमोचिनी र कामदा एकादशी हुन् । तर तीन वर्षको एक पटक हुने अधिक मासमा दुइ एकादशी थपिने गर्दछ । जसका नाम पद्‍मिनी र परमा एकादशी राखिएको छ ।

विभिन्न एकादशीका विभिन्न विशेषताहरु छन् । हिन्दु आख्यानका अनुसार एकादशीका दिन माछा मासु जस्ता भोजन गर्न परहेज गरि पूर्णरुपमा सात्विक भोजन गर्ने भनिएको हुन्छ । तर दशैको नवरात्र पछि आउने एकादशीको समय भने घरमा माछा मासु भित्रिसकेको हुन्छ । जसले गर्दा शास्त्रका पारंगतहरुले यसलाई केही भिन्न गिद्धे एकादशी बनाइदिएको छ । यस एकादशीमा गिद्धले झै मासु खान हुने अर्थात माछा मासु खान हुने छुटको प्रावधान बनाइएको छ । हुन त यस एकादशीलाई पापांकुशा एकादशी भनेर यस दिन ब्रत बस्नेको सम्पूर्ण पाप नाश हुने भन्ने मान्यता पनि रहेको छ ।

महाभारतमा युधिष्ठिरलाई कृष्णले यस एकादशीको बारेमा वर्णन गर्दै यस दिन ब्रत बस्नेको सम्पूर्ण पाप नाश हुने बताएका छन् । त्यसै गरि रामायणका अनुसार रामले रावण लगायत लङ्काका असंख्य सेनाको हत्या गरेपछि सो पापमोचन गर्न यहि एकादशीका दिन रामलक्ष्मण सहित अयोध्याका सेना तथा हनुमान लगायतका आफूलाई सहयोग गर्ने बाँदर सेनालाई पनि ब्रत बस्न लगाएका थिए । यसरी ब्रम्हहत्याको दोषबाट मुक्ति पाएका थिए भनेर लेखिएको छ ।

जसले गर्दा यस दिन मासु सहितको तामसिक भोजन गरेमा अर्को जन्ममा गिद्ध भएर जन्म लिनु पर्ने भनेर ब्याख्या गर्दछन् । खैर अहिले त एकादशी तथा औंसीहरुमा सात्विक भोजन गर्नेहरु पनि घटिसके । एकादशी तथा औंसीमा मासुजन्य पदार्थ बिक्रि गर्ने पसलहरु बन्द गर्ने नियम नै भएपनि यसले कुनै प्रभाव पार्न सकेको छैन । बजारमा जुन सुकै दिन पनि यस प्रकारको खाद्य पदार्थको सहज खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया