लोकमार्गको धुलो र हिलोले यात्रुलाई सास्ती

ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहको मध्यपहाडी लोकमार्गको काम समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको साढे दुई दशक अगाडि ट्रयाक खुले पनि हालसम्म कालोपत्र नहुँदा धुलो र हिलोले यात्रु तथा स्थानीय आजित भएका छन् ।
लोकमार्ग कार्यालयले उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई निर्माण कम्पनीलाई जिम्मेवारी दिएको दियो । तर निर्माण कम्पनीले समयमै काम गर्न सकेका छैनन् ।
बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्ड र घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्ड गरी दुई निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । दुई वर्षमा सक्नेगरी जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र गर्ने काम नसक्दा यात्रु र स्थानीयले ठूलो सास्ती खेप्नुपरेको छ । उपल्लाचौरदेखि १३ किलोमिटर सडकको भारत÷सिद्धिसाई जेबीसँग विसं २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो ।
अहिलेसम्म चारपटक म्याद थप गर्दासमेत बल्ल सात किलोमिटर सडकमात्रै कालोपत्र गरेको छ भने अझै छ किमी सडक कालोपत्र गर्न बाँकी छ । उक्त खण्डको सात वर्षमा ७३ प्रतिशत भौतिक प्रगति र ६९ प्रतिशत आर्थिक प्रगति भएको थियो । उक्त सडकमा पाँच किलोमिटरमा पूर्वाधार निर्माणको कामसमेत बाँकी छ ।
बिहुँदेखि घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि विसं २०७२ माघमा दुई वर्षमा कालोपत्र सक्नेगरी सूर्य कन्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । बाह्र किमी सडकमध्ये हालसम्म उपल्लो खण्डमा छ किमी सडक कालोपत्र सम्पन्न भए पनि पाँचपटक म्याद थप्दासमेत छ किमी सडक कालोपत्र गर्न अझै बाँकी रहेको छ ।
उक्त सडकको ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तीय प्रगति भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । सडक समयमै कालोपत्र नहुँदा वर्षौंदेखि आफूहरुले हिलो र धुलो खान बाध्य भएको स्थानीय केदार कँडेल बताउछन् । सवारी चालक मिनबहादुर विकले यो सडकमा गाडी चलान थालेको १७ वर्ष भएको भन्दै सडकको दुरावस्थाका कारण अहिलेसम्म लाखौँ रकम बराबरको पार्टपुर्जा फेर्नु परेको बताए ।
बागलुङ बजार नजिकै भए पनि सडक अप्ठ्यारो हुँदा बिहुँबाट बजार झर्न झण्डै दुई घण्टा लाग्ने विकको अनुभव छ ।

प्रतिक्रिया