महासचिव गुटेरेस मंगलबार लुम्बिनी पुग्ने

नेपालखोज २०८० कार्तिक ११ गते १९:२०

बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आउँदो मंगलबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएका छन् ।

आइतबार राति काठमाडौं ओर्लिएपछि गुटेरेस कात्तिक १४ गते मंगलबार लुम्बिनी आउने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषले जनाएको छ । गुटेरेस लुम्बिनी आउने राष्ट्रसंघको छैठौं महासचिव हुनेछन् ।

महासचिव गुटेरेसको स्वागतका लागि कोषले आवश्यक तयारी समेत गरेको लुम्बिनी विकास कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए । उनका अनुसार मंगलबार बिहान ९ बजेदेखि १० बजेभित्र महासचिव गुटेरेस सहभागी औपचारिक कार्यक्रम हुनेछ । त्यहां सञ्चारकर्मीसंग गुटेरेसले आफ्ना भनाइ राख्ने राईले जानकारी दिए ।

महासचिव गुटेरेससंग लुम्बिनीको विकासका लागि सहयोगका लागि अपिल गरिने कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए । लुम्बिनीको गुरुयोजना नै संयुक्त राष्ट्रसंघको पहलमा तयार भएको हो ।

प्रतिक्रिया