आइतबार, जेठ ५, २०८२

आगलागीमा परी एक जनाको मृत्यु, विभिन्न धनमाल जलेर नष्ट

नेपालखोज २०८० कार्तिक १४ गते १२:४८

काठमाडौं । ओखलढुंगा, मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुर बस्ने ३२ वर्षीया कमला गौतमको आगलागीमा परी सोमबार दिउँसो मृत्यु भएको छ ।

भान्सा घरमा डिजेल प्रयोग गरी आगो बाल्ने क्रममा अचानक आगलागी हुँदा उक्त आगलागीमा जलेर कमलाको घट्नास्थलमै मृत्यु भएको हो । आगलागीबाट भान्सा कोठा पूर्णरूपमा जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाजुराको बडिमालिका नगरपालिका–८ राप्का बस्ने भरत रावल र वीर रावलको सँगै जोडिएको घरमा करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा दुवै जनाको २ वटा घर पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पर्साको वीरगंज महानगरपालिका–१८ भवानीपुर सिताराम चोकस्थित सोही ठाउँ बस्ने ओम प्रकाश पटेलको पुरानो प्लाष्टिक तथा कार्टुन गोदाममा सोमबार राति आगलागी हुँदा उक्त गोदाम पूर्णरूपमा र गोदामसँगै टाँसिएको उनकै घरको बरण्डा तथा कुखुरा फर्मको छेउ आंशिक रूपमा जलेर करिब ७२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–४ झ्यालवास बजारस्थित सोही गाउँपालिका–१ जुकेपानी बस्ने खेमु गाहाको दाजुभाई मोबाइल पसलमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

झापाको कमल गाउँपालिका–४ एकता टोल बस्ने लिला बहादुर राईको घरमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

गुल्मीको मालिका गाउँपालिका–६ फुलबारी बस्ने राम प्रसाद भण्डारीको गोठमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया