नेपालस्थित राष्ट्रसंघ कार्यालय अगाडि शान्तिका लागि प्रदर्शन

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा सञ्चालित आतंकवाद र युद्ध विरुद्ध अभियानका क्रममा २०८० कार्तिक १४ गते दिउँसो नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोक अगाडि शान्ति समाजले आधा घण्टा प्रदर्शन गरेको छ ।
युद्धग्रस्त गाजामा नागरिकहरुको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न र हमासले बन्धक बनाएका विपिन जोशी लगायत सबै बन्धकहरुको शिघ्र रिहाइका लागि पहल गर्न संयुक्त राष्ट्रसंघलाई आग्रहसहित प्रदर्शन भएको हो ।
मानव अधिकार तथा शान्ति समाजले हमासको आतंक र इजरायलको बर्बरताको निन्दा गर्दै आएको छ । हमासको आतंक र इजरायलको बर्बरता, दुवै विश्व शान्तिका लागि खतरा भएको धारणा शान्ति समाजको रहेको छ भने स्थापनाकालदेखि नै (२८ वर्षदेखी) । युद्ध र आणविक अस्त्र विरुद्ध अभियान सञ्चालन गर्दै आएको छ ।
प्रदर्शनमा सहभागिहरुले हमास स्टप टेरोरिजम, अन्तराष्ट्रिय कानुनको सम्मान गर, बिश्व शान्ती कायम गर लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापतिहरु होमकान्त चौलागाई र डा. गंगाधर अधिकारी, महासचिव रेनुका पौडेल, सचिव चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्य नम्रता खरेल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, चितवन शाखा सभापति शम्भु राउत, अधिकारकर्मीहरु बलबहादुर गाहा, जगन्नाथ पुडासैनी, ईश्वर पुडासैनी, नानीकाजी गिरी, तुलसीराम भण्डारी, रमेश बराल, सानु लामा, सुप्रिया सापकोटा, सार्जन चापागाई, लगायत दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।
सोही क्रममा शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिवलाई लेखिएको पत्र नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
सोही दौरान द्वन्द पीडित समुदायका तर्फबाट पनि न्यायका लागि ध्यानाकर्षण गराइएको थियो जस्मा द्वन्द पीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, का.वा. अध्यक्ष कल्याण बुढाथोकी लगायत दर्जनौ द्वन्द पीडितको सहभागिता थियो ।

प्रतिक्रिया