मंगलबार, वैशाख १८, २०८१

कर छलेको आशङ्कामा रुसी टाइकुन कुज्मिचेभ पक्राउ

नेपालखोज २०८० कार्तिक १५ गते ८:०५

काठमाडाैं । कर छली र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू उल्लङ्घन गरेको आशङ्कामा फ्रान्सको प्रहरीले रुसी अर्बपति एलेक्सी कुज्मिचेभलाई पक्राउ गरेको छ । उनी सह–संस्थापक रहेको अल्फा समूहमाथि युरोपेली युनियनले प्रतिबन्ध लगाएको छ ।

उनलाई सोमबार राति सेन्ट–ट्रोपेजको रिभेरा रिसोर्टमा पक्राउ गरिएको बताइएको छ । सूत्रका अनुसार प्रहरीले उनको पेरिसस्थित घरसहित उनीसम्बद्ध थुप्रै स्थानमा छापा मारेको छ ।

युक्रेनमाथि रुसी आक्रमणपछि युरोपेली युनियनले सन् २०२२ मार्चमा कुज्मिचेभलाई प्रतिबन्ध लक्षित रुसी नागरिकहरूको सूचीमा राखेको थियो । युरोपेली युनियनका अनुसार कुज्मिचेभको ठूलो हिस्सा रहेको अल्फा बैंक रुसको सबैभन्दा ठूलो करदातामध्येको एक हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको निकट सम्बन्धका कारण कुज्मिचेभलाई ‘रुसको सबैभन्दा प्रभावशाली मानिस’ मा गनिन्छ । सूत्रका अनुसार फ्रान्सेली अनुसन्धानको नेतृत्व न्यायपालिकाको भ्रष्टाचारविरोधी एकाइमार्फत भइरहेको छ । उक्त एकाइले विशेषरूपमा कर छली र अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको उल्लङ्घन गरेकामा कुज्मिचेभमाथि अनुसन्धान गरिरहेको छ ।

युरोपेली युनियनको प्रतिबन्धका कारण फ्रान्समा पारिवारिक सम्बन्ध भएको दावी गर्ने कुज्मिचेभको स्वामित्वमा रहेको ५० लाख युरोभन्दा बढी मूल्यका दुई डुङ्गा सन् २०२२ मार्चमा अधिकारीहरूले कब्जामा लिएका थिए । फोब्र्स पत्रिकारले ६१ वर्षीय कुज्मिचेभलाई छ अर्ब ४० करोड अमेरिकी डलरको कूल सम्पत्तिका साथ विश्वको ६१ औँ धनी व्यक्तिका रूपमा सूचीकृत गरेको छ ।

प्रतिक्रिया