आइतबार, जेठ ५, २०८२

बाढीले उजाडेको कागबेनी कहिले होला पुनःनिर्माण ?

नेपालखोज २०८० कार्तिक १५ गते १२:१०

गण्डकी । कागखोलाको विनाशकारी बाढीले थातथलो उजाडेपछि कर्मा गुरुङ अहिले पनि परिवारसहित आफन्तको आश्रयमा छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन २८ गते सम्साझैँ आएको बाढीले उनको उठिबास गराएको थियो ।

पचास वर्षीया कर्माका यी दुर्दिन अझै कतिञ्जेल लम्बिने हुन् कुनै ठेगान छैन । ‘आफ्नो भन्ने केही बाँकी रहेन, सबै जायजेथा बाढीले लग्यो’, उनले भने, ‘सरकारले हाम्रो दुःख देखोस्, केही व्यवस्था गरोस् ।’ दुई महिना बितिसक्दा पनि बाढीमा घरबास गुमाएकाको पुनःस्थापना हुन सकेको छैन ।

यसपालिको वर्षात्मा कागखोलाले नराम्ररी झुक्काएको कर्माले सुनाए । ‘पानी पर्ने, खोला घटबढ हुने त भइरहन्थ्यो, तर यसरी बाढी नै आएको कहिल्यै थाहा पाएका थिएनौँ’, उनले भने, ‘कहिल्यै नसोचेको घटना हामीले व्यहोर्नुपर्‍यो, हेर्दाहेर्दै बस्ती नै बगरमा परिणत भयो ।’

कर्माको दुईतले घर, च्याङ्ग्रा गोठ, खेती उब्जाउने जमिनलगायत सबै बाढीले बगाएको थियो । उनीझैँ कागबेनीका नौ परिवारले बाढीमा सर्वश्व गुमाएका छन् । राहतका भरमा उनीहरुको गुजारा चलिरहेको छ । बाढीले घरमा आंशिक क्षति पुगेका २३ परिवार पनि कष्टपूर्ण दिन काटिरहेका छन् ।

कृष्ण गुरुङ अहिले बाढीबाट क्षतिग्रस्त भएको घरको जीर्णोद्धारमा जुटिरहेका छन् । उनको घरगोठ, होटललगायतमा बाढीले क्षति पुर्‍याएको थियो । ‘बाढी आउँदा ज्यान जोगाउनु नै ठूलो कुरा भयो, के–कति सरसामान हरायो एकिन छैन,’ ६३ वर्षीय गुरुङले भने, ‘मेरो घरमा २० लाख बढीको भौतिक क्षति भएको छ, भत्किएको घरगोठको आफैले मर्मतसुधार थालेको छु ।’

कृष्णले विभिन्न सङ्घसंस्था र जनस्तरबाट जुटेको राहत सामग्री र आर्थिक सहयोगका भरमा बाढी प्रभावितले दिन गुजारीरहेको बताए । ‘सरकारबाट आउने राहत रकम अझै आइसकेको छैन, बाढीबाट घरबास गुमाएका परिवारलाई यथाशक्य चाँडो पुनःस्थापना गर्नुपर्ने आवश्यकता छ’, उनले भने । सामान्य क्षति पुगेका निजी संरचनाको जीर्णोद्धारमा स्थानीयवासी आफै जुटेको कृष्णले बताए ।

कृष्णले सञ्चालन गर्दै आएको होटल माउन्ट एभरेष्टका सात कोठामा बाढीले पूर्ण रुपमा क्षति पुर्‍याएको थियो । उनले हावापानीमा भइरहेको फेरबदलका कारण मुस्ताङमा बाढी, पहिराजस्त विपद् निम्तन थालेको बताए । ‘पानी पर्ने बेलामा पर्दैन, नपर्ने बेलामा पर्छ’, कृष्णले भने, ‘कागखोलाको बाढीले हामी सबैलाई झस्काएको छ ।’

अनेपेक्षित वर्षासँगै कागखोलामा आएको बाढीले छिनमै हिन्दु र बौद्ध समुदायको पवित्र तीर्थस्थल कागबेनीलाई बगरमा परिणत गरिदिएको थियो । बाढीको पूर्वसूचना पाएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया