मंगलबार, वैशाख १८, २०८१

उत्तर कोरियासम्बन्धी वार्ताका लागि ब्लिङ्केन सोल जाने

नेपालखोज २०८० कार्तिक १५ गते १४:५८

सोल । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आणविक हतियार सम्पन्न मुलुक उत्तर कोरियालगायतका विषयमा छलफल गर्न अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ ।

विदेशमन्त्री ब्लिङ्केन आगामी बुधबार दुई दिने भ्रमणका क्रममा सोल आइपुग्नुहुनेछ । सन् २०२१ मार्च यता यो उनको पहिलो दक्षिण कोरिया भ्रमण हुनेछ ।

उनले दक्षिण कोरियाली समकक्षी पार्क जिनसँग गठबन्धन, उत्तर कोरियाका मुद्दा, आर्थिक सुरक्षा र उन्नत प्रविधिका साथै क्षेत्रीय र वैश्विक परिस्थितिका विषयमा व्यापक छलफल गर्ने मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

‘विदेशमन्त्री ब्लिङ्केनको भ्रमणले दक्षिण कोरिया–अमेरिका गठबन्धनलाई थप विकास गर्न महत्वपूर्ण अवसर प्राप्त हुने अपेक्षा गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । यो वर्ष प्योङयाङ हतियार परीक्षणको रेकर्ड–ब्रेक शृङ्खलामा संलग्न रहँदा सोल र वासिङ्टनले रक्षा सहयोगलाई बढाउँदै आएको समयमा विदेशमन्त्री ब्लिङ्केनको सोल भ्रमण हुँदैछ ।

गत महिना आणविक सञ्चालित विमानवाहक युएसएस रोनाल्ड रेगनले दक्षिण कोरियाली बन्दरगाहको यात्रा गरेको एक सातापछि एउटा अमेरिकी आणविक–हतियार सक्षम बी–५२ ले दक्षिण कोरियामा दुर्लभ अवतरण गरेको थियो ।

उत्तर कोरिया रुसको निकट हुँदै गरेको समयमा यो भ्रमण हुन लागेको हो । प्योङयाङले युक्रेनमा युद्धका लागि मस्कोलाई हतियार उपलब्ध गराइरहको पश्चिमी मुलुकहरूलाई चिन्ता छ ।

दुवै देशका नेताहरू किम जोङ उन र भ्लादिमिर पुटिनले सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा एउटा उच्चस्तरको शिखर सम्मेलन आयोजना गरेका थिए । त्यसपछि अर्को महिना रुसका विदेशमन्त्री सर्गेई लाभरोभले प्योङयाङको भ्रमण गरेका थिए ।

प्योङयाङले रुससँग स्याटेलाइट टेक्नोलोजी र सोभियत युगको सैन्य उपकरणहरूको स्तरवृद्धि गर्नेजस्ता धेरै प्रकारका सैन्य सहयोग मागिरहेको वासिङ्टन र विशेषज्ञहरूले बताएका छन् । उत्तर कोरिया यो वर्ष सैन्य जासुसी उपग्रहलाई अन्तरिक्षमा स्थापना गर्ने प्रयासमा दुई पटक असफल भएको छ ।

प्रतिक्रिया