नारायणी नदी किनारमा कृषि तथा व्यापार महोत्सव गरिने

चितवन । चितवनको नारायणी नदी किनारमा चितवन रिकभरी जनचेतना, संस्कृति, पर्यटन, कृषि तथा व्यापार महोत्सव हुने भएको छ ।
लागुऔषध तथा मद्यपान प्रयोगकर्ताहरुको उपचार तथा पुनःस्थापनाका लागि स्थापित संस्था रिकभरिङ युनाइटेड प्रालिले यही मङ्सिर ६ गतेदेखि १६ गतेसम्म नागरिकलाई सचेतना दिन महोत्सव गर्न लागेको हो ।
कार्यक्रम संयोजक महेश श्रेष्ठले भरतपुर महानगरपालिका–१ को सिफारिस र भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवनको स्वीकृतिमा महोत्सव गर्न लागेको जानकारी दिए ।
लागुऔषध तथा दुव्र्यसनीविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्दै चितवनको मौलिक परम्परा, वेशभूषा र स्थानीय कला तथा संस्कृति संरक्षण गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए ।
दश दिनसम्म चल्ने महोत्सव बिहान १० देखि साँझ ५ बजेसम्म खुला रहने जनाइएको छ । महोत्सवमा स्कुल तथा क्याम्पसका विद्यार्थीलाई लागुऔषधविरुद्धको विभिन्न नाटक, कविता, साहित्य, वादविवाद, गीतसङ्गीत तथा नृत्य प्रतियोगिता गराइनेछ ।
महोत्सवमा बाल उद्यानको साथमा रोटेपिङ, नाउँ, झुला, ड्रागन, कार तथा मोटरसाइकल रेस र सर्कसहरु मनोरञ्जनका लागि राखिनेछ भने औद्योगिक उत्पादनहरु, खाद्यान्न र हस्तकलाका सामानको स्टल राखिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
दैनिक पाँच हजार नागरिकले अवलोकन गर्ने अपेक्षा राखिएको महोत्सवमा प्रवेश शुल्क रु ७० राखिएको छ । पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई महोत्सव प्रवेश निःशुल्क गरिएको छ ।
प्रतिक्रिया