मंगलबार, वैशाख १८, २०८१

भारतमा गत वर्ष सडक दुर्घटनामा ठूलो मानवीय क्षति, ६८ हजार ४९१ जनाको मृत्यु

नेपालखोज २०८० कार्तिक १५ गते २०:०५

नयाँदिल्ली । भारतमा गत वर्ष भएका सडक दुर्घटनामा परी एक लाख ६८ हजार ४९१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । उक्त एक वर्षमा चार लाख ४३ हजार ३६६ जना घाइते भएका तथ्याङ्कमा उल्लेख छ ।

भारतको सङ्घीय सडक यातायात तथा राजमार्ग मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्ष सडक दुर्घटना र मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा क्रमशः ११.९ प्रतिशत र ९.४ प्रतिशतले बढेको छ ।

घाइते हुनेको सङ्ख्यामा पनि १५।३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ मा चार लाख ६१ हजार ३१२ वटा सडक दुर्घटना भएका थिए, जसमध्ये एक लाख ५१ हजार ९९७ वटा द्रूतमार्गसहित राष्ट्रिय राजमार्गमा, एक लाख छ हजार ६८२ वटा प्रादेशिक राजमार्गमा र बाँकी दुई लाख दुई हजार ६३३ वटा अन्य सडकमा भएका थिए ।

“सन् २०२२ मा १८ देखि ४५ वर्ष उमेर समूहका ६६.५ प्रतिशत युवा पीडित भएका छन्,” प्रतिवेदनमा भनिएको छ । सडक दुर्घटनाबाट हुने मृत्युको ८३।४ प्रतिशत १८ देखि ६० वर्ष उमेर समूहका छन् । प्रतिवेदनले तीव्र गति, लापरबाहीपूर्वक गाडी हाँक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र ट्राफिक नियमको पालना नगर्नेजस्ता दुर्घटनाका कारक तत्वलाई सम्बोधन गर्न व्यापक दृष्टिकोण अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘हामीले कार्यान्वयन संयन्त्रलाई बलियो बनाउन, चालक शिक्षा र प्रशिक्षण कार्यक्रमहरू बढाउन र सडक तथा सवारी साधनहरूको अवस्था सुधार गर्न लगानी गर्न महत्वपूर्ण छ ।’

भारतमा अत्यधिक भार, सडकको खराब अवस्था र लापरबाहीपूर्वक गाडी चलाउँदा घातक सडक दुर्घटना हुने गरेको छ । भारत सरकारले सन् २०२४ सम्ममा सडक दुर्घटनाबाट हुने मृत्युदर ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया