मंगलबार, वैशाख १८, २०८१

अस्ट्रेलियाका मार्स विश्वकप छोडेर स्वदेश फर्किए

नेपालखोज २०८० कार्तिक १६ गते ११:१८

सिड्नी । अलराउन्डर मिच मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार बताएको छ । स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन् ।

ग्लेन म्याक्सवेल गल्फ कार्ट (बग्गी) बाट लडेर चोटका कारण खेलबाट बाहिरिएसँगै अहमदाबादमा यसै साताको अन्त्यमा इङ्गल्यान्डसँगको भिडन्तअघि मार्सको अनुपस्थिति अस्ट्रेलियाका लागि अर्को झट्का हो ।

क्रिकेट अस्ट्रेलियाले मार्सका बारेमा ट्विटरमा भनेको छ, ‘टिममा उनको फिर्तीको समयसीमा निश्चित हुन बाँकी छ ।’ १५ सदस्यीय टिममा कसैलाई प्रतिस्थापनका लागि बोलाइने हो वा होइन स्पष्ट भएको छैन ।

बत्तीस वर्षीय अस्ट्रेलियाको टि–२० का कप्तान मार्स विश्वकपमा राम्रो फर्ममा रहेका छन् र अहिलेसम्म ३७ दशमलव ५० को औसतमा दुई सय २५ रन बनाइसकेका छन् । पाकिस्तानविरुद्ध डेभिड वार्नरसँग दुई सय ५९ रनको सुरुआती साझेदारीमा उनले एक सय २१ रनको सानदार पारी खेलेका थिए ।

मार्स र म्याक्सवेल दुवै टिमबाट बाहिर भएपछि मार्क स्टोइनिस वा क्यामरुन ग्रिनलाई जोस बटलरको सङ्घर्षरत इङ्गल्यान्डको सामना गर्नका लागि तयार भएको देखिएको छ । इङ्गल्यान्ड अहिलेसम्म छ खेलमा मात्र दुई खेल जितेर १० टिममा अन्तिम स्थानमा रहेको छ ।

अहिले तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले आफ्नो अभियान सुस्त गतिमा गरेपछि लगातार चार खेल जितेको छ । सोमबार गल्फको एक राउन्ड खेलपछि अँध्यारोमा बग्गी पछाडिबाट खसेपछि म्याक्सवेल कन्कसन प्रोटोकलअन्तर्गत अनुपलब्ध छन् किनकी भारतमा लगातारको टुर्नामेन्टका क्रममा खेलाडीहरूले विश्राम लिएका थिए ।

प्रतिक्रिया