सोमबार, वैशाख २४, २०८१

दरवार हाइस्कुल

सुनिल उलक २०८० कार्तिक १९ गते १०:००

बेलायतबाट फर्केपछि राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले वि.सं. १९१० मा जनरल धीरशम्शेरको दरवार थापाथली दरवार भित्र राणाहरुका लागि पहिलो पटक अंग्रेजी समेतको शिक्षाको शुरुवात गरे । यस अगाडि पाठशालाहरुमा निजामती श्रेस्ता, नेपाली तथा संस्कृत शिक्षा दिने गरिन्थ्यो ।

दरवार भित्र यसरी शुरु भएको स्कुललाई दरवार स्कुल भन्न थालियो । थापाथली दरवारमा पढाउन शुरु गरिँदा केनिङ नाम गरेका बेलायतीलाई हेडमाष्टरका रुपमा ल्याइएका थिए । यस अगाडि जङ्गबहादुरले दरवारमा दुइ अंग्रेजलाई दरवारमा अंग्रेजी सिकाउन ल्याइएका थिए । थापाथलीमा शुरु भएको यो स्कुल पछि हिटी दरवारमा सारियो । हिटी दरवारमा सञ्चालन हुँदा धीरशम्शेरका सत्र भाइका सन्तानले मात्र सो स्कुलमा पढ्न पाउँदथे ।

पछि वि.सं. १९३३ सालमा सेतो दरवारमा सारिए पछि भने अन्य राणाका सन्ततीहरुले पनि पढ्न पाए । १९४२ मा आइपुग्दा अन्य भारदारका छोरा नातिहरुलाई पनि पढ्न पाउने छुट दिइयो । १९५१ सालमा दरवार स्कुलको आफ्नै भवन भयो । रानीपोखरीको पश्चिममा भवन तैयार भए पछि सेतो दरवारबाट अहिलेको दरवार स्कुल भएको ठाउँमा सारियो । यसरी नेपालको पहिलो अंग्रेजी भाषा पढाउने स्कुलको शुरुवात भएको थियो ।

शुरुमा केही राणाका छोरा नाति मात्रै भर्ना हुने यस स्कुलमा १९५८ सालसम्म केवल १७ जनाले मात्रै अंग्रेजी पढेका थिए । पछि श्री ३ देवशम्शेरले सबैलाई पढ्न छुट दिए पछि १९७५ सम्म पढ्नेको संख्या १७५ पुग्यो । आम मानिसका छोराहरुले पनि पढ्न पाउने भए पछि दरवार हाइस्कुलको पहिलो हेड माष्टरका रुपमा अखिलेष प्रसाद आजादलाई ल्याइयो । अखिलेष पछि हेडमाष्टर बनेका बटुकृष्ण मैत्रेय भने निकै लामो समयसम्म हेडमाष्टरका रुपमा रहे । बटुकृष्ण पछि शारदाप्रसाद मुखर्जी हेडमाष्टर बने । यसपछि बल्ल १९८२ मा पहिलो पटक नेपाली हेडमाष्टरका रुपमा रुद्रराज पाण्डेले मौका पाए ।

अहिलेको एसईई सरहको म्याट्रिकुलेशनको परीक्षा भने कलकत्ता विश्व विद्यालयले लिने गर्दथ्यो । वि.सं. १९३६ देखि कलकत्ता विश्व विद्यालयले म्याट्रिक परीक्षा लिने गरेकोमा १९८० देखि पटना विश्व विद्यालयबाट सम्वर्धन प्राप्त गरेको थियो । १९३६ मा कलकत्तामा म्याट्रिक परीक्षा दिन जङ्गबहादुरका भतिजा खड्गशमशेर पहिलो पटक कलकत्ता पुगेका थिए । तर परीक्षा अगाडि लिइने इन्ट्रान्समा नै फेल भए । जसले गर्दा म्याट्रिकुलशन परीक्षा दिन पाएनन् ।

१९३७ मा म्याट्रिकुलशन परीक्षा दिन चन्द्रशम्शेर कलकत्ता पुगे र उतिर्ण पनि भए । चन्द्रशमशेर राणा परिवार भित्रमा पहिलो म्याट्रिक उतिर्ण गर्नेमा पर्न पुगे । म्याट्रिक उतिर्ण गरेपछि चन्द्रशमशेरले कलकत्ता विश्व विद्यालयमा नै पढाइ सुचारु राखे । तर १९४० मा बाबु धीरशमशेरको निधनको समाचार सुनेपछि फर्केका चन्द्रशमशेर फेरी पढाइ पुरा गर्न कलकत्ता पुग्न नै पाएनन् ।

त्यो बेला म्याट्रिकुलशनको परीक्षा दिन कलकत्ता तथा पटना जाँदा बिद्यार्थीहरुका लागि सम्पूर्ण ब्यबस्था सरकारले नै गरिदिन्थ्यो । जाने आउने तथा बस्ने खाने ब्यबस्था सरकारबाट नै हुने गर्दथ्यो । वि.सं. १९८५ मा म्याट्रिकुलशन वोर्ड (म्याट्रिकुलेशन परीक्षा केन्द्र) को गठन नेपालमा नै भयो । वि.सं. १९९० कार्तिक १६ गते जुद्धशमशेरले एसएलसी परीक्षा बोर्ड (प्रवेशिका परीक्षा) को गठन संगै परीक्षा दिन पटना जानुपर्ने बन्द भयो ।

परीक्षा नेपालमा नै दिन पाउने भयो । तर परीक्षाको तैयारी प्रश्नपत्र तथा परीक्षाफलको प्रकाशन भने सबै पटना विश्व विद्यालयले नै गर्दथ्यो । परीक्षाको केही दिन अगाडि पटना विश्व विद्यालयबाट सुपरिटेण्डेण्टहरु आउँथे परीक्षा लिन्थे र उत्तरपुस्तिकाको पोको लिएर पटना फर्कन्थे । नतिजा पटना विश्व विद्यालयले नै प्रकाशित गर्दथ्यो । २००३ सालबाट भने नेपालमा नै परीक्षाको सम्पूर्ण तैयारी तथा नतिजा निकाल्ने काम भयो । यसपछि भने म्याट्रिकुलेशन परीक्षाको नाम पनि प्रवेशिका परीक्षा तथा एसएलसी भन्न थालियो ।

१९९० सालमा परीक्षा वोर्डको गठन पछि नेपालमा नै परीक्षा लिने तैयारी भयो । पुसको अन्तिम साता परीक्षाको तालिका प्रकाशित भयो । परीक्षाका लागि ३४ विद्यार्थीले फारम भरे । जसमा एक मात्रै छात्रा सुवर्ण कुमारी देवी थिइन् । तर परीक्षाको दिन भने उनि सम्मिलित भइनन् । यसरी नेपालमा पहिलो पटक एसएलसीको परीक्षा शुरु त भयो । तर परीक्षा समाप्त नहुँदै अचानक माघ २ गते महाभूकम्प आयो । दरवार हाइस्कुलमा पनि क्षति पुग्यो ।

दरवार हाइस्कुलको दक्षिण भागका कोठाहरुमा एसएलसी परीक्षा सञ्चालन गरिएका थिए, त्यहा क्षति हुन पुग्यो । यसरी रोकिएको एसएलसी पाँच महिना पछि १९९१ को जेठमा मात्रै सञ्चालन हुन सक्यो । दरवार हाइस्कुलमा क्षति पुगेका कारण बाकी परिक्षा भने टुँडिखेलको खुला मैदानमा नै गराइयो । दरवार हाइस्कुलको आफ्नो भवन पूननिर्माण नहुँदा सम्म सम्पूर्ण पढाइ त्रीचन्द्र कलेजमा गराइएको थियो ।

यसको नतिजा पनि ढिलो गरि प्राप्त भयो । जसमा प्रथम श्रेणीमा कोही पनि उतिर्ण हुनसकेनन् । दोश्रो श्रेणीमा १० जना उतिर्ण भए भने तेश्रो श्रेणीमा ९ जना उतिर्ण भए । यसरी पहिलो एसएलसी परीक्षामा १ अनुपस्थित, १४ अनुतिर्ण र १९ बिद्यार्थी उतिर्ण भएका थिए । यस पहिलो एसएलसीमा भक्तपुरका पुष्पभक्त मल्ल नेपालकै इतिहासमा पहिलो बोर्ड फस्ट हुने सौभाग्य पाएका थिए ।

१९९० सालमा एक छात्राले प्रवेशिका परीक्षाका लागि फारम भरे पनि अनुपस्थित रहेकोमा त्यसपछि १४ वर्षसम्म कुनै पनि छात्रा परीक्षामा सम्मिलित भएनन् । २००४ सालमा बल्ल एकैपटक चार छात्रा साहना प्रधान, साधना प्रधान, अंगुरबाबा जोशी र भुवनसिंहले प्रवेशिका परीक्षा दिएका थिए ।

दरवार हाइस्कुलमा प्राय माष्टरहरु भारतबाट नै ल्याइएका हुन्थे । राजा त्रिभुवनको शुभराज्याभिषेकका समय दरवार हाइस्कुलका माष्टरहरुलाई पनि निम्तो पठाइएको थियो । जसले गर्दा ति माष्टरहरु पनि टेन्टमा बसेर राज्याभिषेक समारोह नजिकबाट हेर्न पाएका थिए । यहाँ तस्विरमा बटुकृष्ण सेतो लामो दाह्री जुंगा भएका, बनारसी गोल टोपी लगाएका लामो कोट जस्तो अचकन लगाएका बाहिरबाट इष्टकोट र गोलो चश्मा लगाएका दायाँतर्फ देख्न सकिन्छ । बाकीलाई भने चिन्न सकिन ।

प्रतिक्रिया