पुष्प मेलामा आकर्षण

गण्डकी । पोखरामा जारी ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ मा अवलोकनकर्ता र ग्राहकको आकर्षण बढेको छ । फ्लोरीकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति कास्कीद्वारा आयोजित प्रदर्शनीको आइतबारसम्ममा १५ हजार बढीले अवलोकन गरेको जनाइएको छ ।
शुक्रबारदेखि सुरु भएको प्रदर्शनी अवलोकनसँगै अहिलेको याममा फूल्ने सयपत्री, गोदवारीलगायत फूल र बिरुवाको किनबेच पनि भइरहेको एसोसिएसनका अध्यक्ष डिलबहादुर गुरुङले बताए । ‘पुष्प मेलाप्रति आकर्षण बढ्दै गएको छ, नयाँ–नयाँ प्रजातिका फूल एकै ठाउँमा भएकाले पनि ग्राहकलाई सहज भएको छ’, उनले भने । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको पुष्प मेलामा फूलका २०, कृषिका तीन र सूचनामूलक एक गरी २४ प्रदर्शनीकक्ष छन् । पुष्प व्यवसायको विस्तार तथा बजार प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको आयोजना गरिएको एसोसिएसनका अध्यक्ष गुरुङले बताए ।
सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवद्र्धनमा गोदावरीको सान’ भन्ने आदर्श वाक्यसहित उक्त मेलाको आयोजना गरिएको हो । मेलाबाट पुष्प व्यवसाय गर्न चाहाने किसान तथा फूलप्रति अभिरुचि राख्ने ग्राहकले प्रत्यक्ष लाभ लिइरहेको आयोजकको भनाइ छ । फूल खेती र एसोसिएसनले गर्दै आएका गतिविधिबारे पनि प्रदर्शनीस्थलमा जानकारी दिने गरिएको छ । पुष्प व्यवसायीहरुका अनुसार पछिल्लो समयमा पोखरामा फूल खेतीप्रति आकर्षण बढ्दो छ ।
नर्सरीबाट बिरुवा लगेर गाउँगाउँमा फूल उत्पादन गर्ने किसान पनि उत्तिकै रहेको व्यवसायी श्रेष्ठले बताउनुभयो । एसोसिएसनका अनुसार पोखरालाई चाहिने ८० प्रतिशतभन्दा बढी फूल यही उत्पादन हुन्छ । पन्ध्रदेखि २० प्रतिशत मात्र बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायी बताउँछन् । तिहारका बेला भने माग धान्न नसकिने भएकाले भारतबाट फूल आयात गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।
गण्डकी प्रदेशमा ४८ जना नर्सरी सञ्चालन गर्ने पुष्प व्यवसायी रहेको एसोसिएसनले जनाएको छ । नर्सरीबाट बिरुवा लगेर फूल उत्पादन गर्ने किसानको सङ्ख्या भने धेरै छ । उन्नत बीउबिजन, अनुदान र आधुनिक खेती प्रविधिले पुष्प व्यवसायमा किसानको आकर्षण बढ्दै गएको जनाइएको छ ।
यस वर्ष पोखरा महानगरपालिकाको सहयोगमा थप एक सय ६५ रोपनी क्षेत्रफलमा सयपत्री र मखमली फूल खेती विस्तार भएको जनाइएको छ । पोखरासहित कास्कीका अन्य स्थानीय तहले पनि फूल खेती गर्ने किसानलाई अनुदान र प्रविधि सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया