विपी स्मृति भवनलाई जुट्यो तीन करोड

गलकोट (बागलुङ) । बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । विपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै तीन करोड सहयोग रकम सङ्कलन भएको छ ।
विपी स्मृति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ आचार्यका अनुसार हाल भवन निर्माणको २५ प्रतिशत भौतिक प्रगति भएको छ ।
सहयोग सङ्कलन गरिएको तीन करोडमध्ये ७५ लाख सरकारी निकायबाट हो भने अन्य रकम व्यक्तिगत सहयोगबाट जुटेको छ । गत वर्षदेखि थालिएको भवन निर्माण अभियानमा सहयोग जुट्ने क्रमले तीव्रता पाएको छ ।
अहिले बागलुङ नगरपालिका–३ नारायणचोकमा स्मृति भवन निर्माण भइरहेको छ । हालसम्म भवन निर्माणमा झण्डै रु एक करोड खर्च भइसकेको अध्यक्ष आचार्यले बताए ।
उक्त भवन निर्माणका लागि पूर्वाधार विकास कार्यालयबाट ५० लाख, बागलुङ नगरपालिकाबाट २० लाख र जैमिनी नगरपालिकाबाट पाँच लाख बजेट विनियोजन भई फछ्र्योट भइसकेको छ । यस्तै जिल्लाका विभिन्न व्यक्ति, शुभेच्छुक तथा जनप्रतिनिधिबाट एक करोड ५९ लाख र जापानबाट ५० लाख सङ्कलन भएको छ ।
‘सहयोग जुटाएरै आधुनिक भवन निर्माण थालिएको छ’ अध्यक्ष आचार्यले भने ‘अबको तीन वर्षमा भवनले सार्थकता पाउला भन्ने आशा छ, सहयोग उठ्ने क्रम जारी छ ।’

प्रतिक्रिया