आइतबार, जेठ ६, २०८१

नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

नेपालखोज २०८० कार्तिक २२ गते १४:४१

एजेन्सी । नेपालले एसिसी यू–१९ एसिया कपमा पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले यू१९ एसिया कपको तालिका सार्वजनिक गरेको छ ।

यू१९ एसिया कप ८ देखी १८ डिसेम्बरसम्म युएईमा हुने भएको छ । यसअघि एसिया कप पाकिस्तानमा हुने तालिका थियो । तर भारत जान नमानेपछि युएईमा सारिएको हो । समूह ए मा नेपाल, पाकिस्तान, अफगानिस्तान र भारत छन् । समूह बी मा बंगलादेश, श्रीलंका, युएई र जापान छन् ।

नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानसँग आइसिसी एकेडेमी ओभल २ मा खेल्नेछ । नेपालले दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा भारतसँग खेल्नेछ । सेमिफाइनल १५ डिसेम्बरमा हुनेछ । फाइनल १७ डिसेम्बरमा हुनेछ ।

नेपालले तीन साताअघि मलेसियामा सम्पन्न एसिसी यू१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । नेपाल विजेता, युएई उपविजेता र जापान तेस्रो स्थानमा रहँदै प्रिमियर कपमा शीर्ष तीनमा रहँदै एसिया कपमा स्थान बनाएका हुन् ।

गत सेप्टेम्बरमा नेपालको सिनियर टोलीले पनि एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो । गत जुलाईमा नेपालले श्रीलंकामा एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारत र पाकिस्तान ए विरुद्ध पनि खेलेको थियो । नेपालले अघिल्लो महिना १९ औं एसियाली खेलकुदको क्वाटरफाइनलमा भारतसँग हारेको थियो ।

यू१९ एसिया कप २०२४ जवनरीमा श्रीलंकामा हुने यू१९ विश्वकप अघिको तयारी हो । उक्त यू१९ विश्वकपमा नेपाल, न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान एकै समूहमा छन् । यू१९ विश्वकपमा नेपालले १३ जवनरीमा न्युजिल्यान्ड, १७ जनवरीमा पाकिस्तान र जनवरी २० मा नेपालले अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया