बिहीबार, वैशाख २०, २०८१

गुञ्जिन थाले तिहारका गीत

नेपालखोज २०८० कार्तिक २२ गते १७:२०

काठमाडौं । उज्यालोको पर्व तिहार आउन केही दिन मात्र बाँकी छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका हुने गर्दछन् । कालजयी ती गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीतमा पनि समेटिएका छन् ।

चलचित्र ‘स्वर्ग’ मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत भएको गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन्। यादव खरेलले रचना गरेको गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गरेका छन् ।

‘दियो बाली साँझको’ गीत पनि तिहारको समयमा उत्तिकै लोकप्रिय हुने गर्दछ । चलचित्र ‘चिनो’ मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गरेका छन् । कुशुम गजमेरले शब्द रचना, रञ्जित गजमेरले सङ्गीत सिर्जना गर्नुभएको गीतमा गायिका आशा भोस्लेले स्वर दिएका छन् । निर्देशक तुलसी घिमिरेले चलचित्रमा तिहारको गीत र प्रसङ्गलाई कथावस्तु अनुसार नै प्रस्तुत गरेकी छिन् ।

प्रतिक्रिया