बिहीबार, वैशाख २०, २०८१

दाताको भरमा गौ संरक्षण

नेपालखोज २०८० कार्तिक २४ गते १३:३१

नारायणगढ (चितवन) । भरतपुर महानगरपालिका–१ मा रहेको बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा रहेका गाईको संरक्षण दाताको भरमा हुँदै आएको छ ।

यहाँ रहेका दुई सयभन्दा बढी स्थानीय जातका गाईको दैनिक आहारविहार दाता र चन्दाको भरमा सञ्चालन हुने गरेको हो । आश्रमका अध्यक्ष नवराज ढकालका अनुसार यहाँ रहेका गाईलाई दानाका लागि मासि पाँच लाख खर्च हुने गरेको छ । गौ संरक्षणका लागि विभिन्न दाताले सहयोग गरेको रकमको ब्याज र अन्य आम्दानी गरेर मासिक एक लाख ३५ हजार सङ्कलन भए पनि नपुग खर्चका लागि दाताकै भर पर्नुपरेको छ ।

योगी नरहरिनाथले स्थानीय जातका गाई संरक्षण गर्ने उद्देश्यले वि.सं २०४३ मा गौ संरक्षण केन्द्र स्थापना गरेका थिए । चितवनको माडीबाट स्थानीय जातका सातवटा गाई ल्याएर संरक्षण थालिएकामा अहिले केन्द्रमा दुई सयभन्दा बढी गाईगोरु छन् । उनले सुरु गरेका कार्यको निरन्तरताका लागि गौ संरक्षण कार्य विभिन्न व्यक्तिसँगको सहकार्यमा गरिँदै आइएको अध्यक्ष ढकालले जानकारी दिए । उनले भने ‘गौ संरक्षण केन्द्रमा ११ हजारभन्दा बढी सहयोग गर्नेलाई आजीवन सदस्य र एक लाखभन्दा बढी सहयोग गर्नेलाई संरक्षक सदस्यको रुपमा राख्ने गरेका छाैँ ।’

यसरी सङ्कलित भएको रकमलाई बैंकमा राखिएको ब्याज र दूधलगायत बस्तु बेचेर आएको रकमका साथै अपुग रकम सहयोगबाट चल्ने गरेको छ । अध्यक्ष ढकालले थपे, ‘सबैको सहयोग रहेकोे केन्द्रलाई नेपालको नमूनाको रुपमा विकास गर्ने योजना रहेको छ ।’

केन्द्रका संरक्षक सदस्य टङ्क पौडेलले संरक्षण केन्द्रमा अघिल्ला वर्षहरुभन्दा सुधार भए पनि अझै केन्द्र सञ्चालनका लागि बजेटको अभाव भएको बताए । उनले भने, ‘गाईको महत्व समाजमा बुझाउन नसक्दा स्थानीय जाताका गाईको संरक्षण गर्न कठिन भएको छ ।’ स्थानीय जातका गाईले थोरै दुःध दिने हुँदा यस्ता गाईको स्थानमा जर्सी, होलस्टेनलगायत गाई पाल्न थालेपछि संरक्षण गर्न कठिन हुन थालेको हो । स्थानीय जाताका गाईको महत्व बुझाउन सकेमा संरक्षणमा थप टेवा पुग्ने सदस्य पौडेलकोे भनाइ थियो।

केन्द्रका संस्थापक प्रा कृष्ण देवकोटाले स्थानीय जातका गाईको संरक्षणमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिए। अहिलेसम्म केन्द्रले आफ्नो बलबुताले गौ संरक्षण गर्दै आएको उल्लेख गर्दै उनले भने, ‘स्थानीय जातका गाई संरक्षणमा राज्यले चासो दिनुपर्छ ।’ दूध थोरै दिने भन्दै यस्ता जाताका गाईको महत्व नबुझ्दा संरक्षणमा समस्या आएको हो । संस्थापक देवकोटाले अहिले केन्द्रको आम्दानीभन्दा गौ संरक्षणमा बढी खर्च हुने गरेको गुनासो गरे । उनले स्थानीय जातका गाईको दूध, दही, घ्यू, पिसाब र गोबरसमेत स्वास्थ्यका लागि उपयोगी रहेको अझ गाईको दूधमा प्रोटिन पाइने र घिउले मानिसको मस्तिष्क विकासमा ठूलो योगदान गर्ने जानकारी दिए ।

सामूहिक गौ पूजा

उक्त केन्द्रले विगतका वर्षझै यस वर्ष पनि सामूहिक गौ पूजा गर्ने भएको छ । तिहारको अवसरमा लक्ष्मीपूजा, गाईपूजा र गोवर्धनपूजाका दिन केन्द्रले सामूहिक गौ पूजा गर्न लागेको हो । गाईलाई लक्ष्मीको प्रतीकका रुपमा पुज्ने गरिन्छ । धर्म संस्कार र संस्कृतिको रक्षार्थ पूजा आयोजना गर्न लागिएको हो । पूजामा नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवं हरिहर आश्रम देवघाटका १००८ स्वामी ज्ञानानन्द सरस्वतीको उपस्थिति रहने केन्द्रका अध्यक्ष ढकालले जानकारी दिए ।

प्रतिक्रिया