शनिबार, जेठ ५, २०८१

टिकटकमाथि लगाएको प्रतिवन्धविरुद्ध दायर रिटमा आजबाट सुनवाइ हुँदै

नेपालखोज २०८० मंसिर ४ गते ६:३९

काठमाडौं । टिकटकमाथि लगाएको प्रतिवन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनवाइ हुँदै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा सोमबारका लागि पेशी तोकिएको थियो ।

जसअनुसार सो प्रतिबन्ध खुलाउन माग गर्दै दायर रिटमाथि आजबाट सुनवाइ हुन लागेको हो । हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवन्ध लगाएपछि अदालत खुलेको पहिलो दिन अर्थात मंसिर १ गते सर्वोच्च अदालतमा कयौं रिट निवेदन परेको थियो ।

उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंशिर ४ गतेका लागि पहिलो पेशी तोकिएको अदालतले जानकारी दिएको थियो । शनिबार तथा आइतबार छठ पुजाको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।

सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।

प्रतिक्रिया