अर्जेन्टिनाको राष्ट्रपतिमा निर्वाचित मिलेईलाई चीनको बधाई

बेइजिङ । चीनले अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति जेभियर मिलेईलाई बधाई दिँदै उनीसँग काम जारी राख्ने बताएको छ । निर्वाचन अभियानमा मिलेईले बेइजिङसँग सम्बन्ध तोड्ने वाचा गरेका थिए ।
‘चीनले सधैँ रणनीतिक र दीर्घकालीन दृष्टिकोणले चीन–अर्जेन्टिना सम्बन्धको विकासलाई उच्च महत्त्व दिएको छ’, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, ‘चीन–अर्जेन्टिना सम्बन्धको विकास दुवै मुलुकमा समाजका सबै क्षेत्रबीच आम सहमति बनेको छ र यसले दुवै मुलुकका जनतालाई ठोस लाभ दिएको छ ।’
उनले चीन–अर्जेन्टिना मित्रताको निरन्तरताका लागि अर्जेन्टिनासँग काम गर्न चीन इच्छुक रहेको बताए । ‘जित–जित सहयोगमार्फत सम्बन्धित विकास र पुनरुत्थानलाई चीन समर्थन गर्छ’, उनले भने ।
स्वयंलाई ‘अराजक पूँजीवादी’ बताउने मेइलीले लामो समयदेखि अर्जेन्टिनाको राजनीतिमा प्रभुत्व जमाउँदै आएको पेरोनिस्ट गठबन्धनलाई हटाउने गरी ठूलो परिवर्तन गरेका छन् । उनले अर्जेन्टिनाका शीर्ष व्यापारिक साझेदारमध्येको एक चीनका साथै ब्राजिलसँग पनि सम्बन्ध तोड्ने वाचा गर्दै भनेका थिए, ‘म कम्युनिष्टहरूसँग व्यापार गर्दिनँ ।’
उनले आफू गर्भपतनको विरुद्ध रहेको पनि बताएका छन् । उनले पोप फ्रान्सिसको समेत अपमान गरेका छन् । अर्जेन्टिनाको क्रुर तानाशाहीअन्तर्गत मृत्यु हुनेको सङ्ख्यामाथि प्रश्न गर्दै उनले जलवायु परिवर्तनमा मानवको हात नरहेको बताएका छन् ।
प्रतिक्रिया