माओवादीसँग एकता गर्न बाबुरामको संयोजकत्वमा समिति

काठमाडौं । नेपाल समाजवादी पार्टीले अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गरेको छ ।
बुधबार पार्टी केन्द्रीय समितिको चौथो बैठकले अध्यक्ष भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहेको पार्टी एकता/ध्रुवीकरण संयोजन समिति बनाउने निर्णय गरेको हो ।
बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र) लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्दै जान पार्टी अध्यक्ष भट्टराईको संयोजकत्वमा समिति गठन गरेको अध्यक्षद्वय भट्टराई र यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत शुक्रबार प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. भट्टराईलाई बोलाएर आफूहरुकै नेतृत्वमा पार्टी एकता समायोजन समिति बनाउन प्रस्ताव गरेका थिए । त्यसको दुई दिनपछि ३ मंसिरमा बसेको दुबै दलको वार्ता टोलीको बैठकले पनि पार्टी एकता समायोजन समिति बनाउन सुझाव दिएको थियो ।
प्रतिक्रिया