केपी ओली कप– बागमती सेमिफाइनलमा

कास्की । पोखरामा जारी ‘केपी ओली कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट’ प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । बागमतीले लगातार दुई खेल जित्दै प्रतियोगिताको अन्तिम चारणमा पुगेको हो ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा बागमतीले कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्न सफल भयो । खेलमा टस जितेर व्याटिङ सुरु गरेको बागमतीले रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा छ विकेटको क्षतिमा एक सय ८९ को विशाल योगफल तयार गरेको थियो ।
बागमतीका गौतमले १० चौका र दुई छक्का हिर्काउँदै सर्वाधिक ८२ रन बनाए भने पाण्डेले चार चौका र छ छक्कासहित ७० रनको योगदान दिए । जवाफी व्याटिङ थालेको कर्णाली प्रदेश भने १७ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर ९९ रनमात्रै जोड्न सक्यो ।
बागमतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिएपछि कर्णालीलाई लक्ष्य भेट्टाउन सकस भएको थियो । बागमतीका दीपेश श्रेष्ठले दुई तथा इशान पाण्डे, सुवास खत्री, रिजन ढकाल र प्रतीश जिसीले समान एकरएक विकेट लिए ।
बागमतीले शुक्रबार उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई पराजित गरेको थियो ।
प्रतियोगिताको च्याम्पियन टोलीले रू पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रू दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने एकेडेमीका अध्यक्ष ध्रुव्र आचार्यले जानकारी दिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियमानुसार सञ्चालन भएको प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले ३० हजार, ‘बेस्ट बलर’ले २० हजार, र ‘म्यान अफ द म्याच’ले पाँच हजार पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया