शिक्षा क्याम्पसको प्रशासनिक भवन शिलान्यास

गलेश्वर (म्याग्दी) । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–२, बाबियाचौर लाम्पाटामा अवस्थित मङ्गला शिक्षा क्याम्पसमा प्रशासनिक भवन निर्माण गरिने भएको छ ।
मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले भवनको शिलन्यास गरेका हुन् । कूल ५५ लाख ९० हजार दुई सय २२ लागतमा मङ्गला कस्ट्रक्सनले निर्माण गर्न लागेको प्रशासनिक भवनमा सभाहल, प्रतीक्षालयसहित तीन कोठा रहने मङ्गला शिक्षा क्याम्पसका प्रमुख पितमबहादुर खत्रीले जानकारी दिए ।
आगामी चैत महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको उक्त भवनको शिलान्यास गर्दै क्याम्पसका संरक्षक एवम् गाउँपालिका अध्यक्ष रोकाले भवन निर्माणपछि प्रशासनिक कार्यका लागि सजिलो हुने बताए ।
तीनतलेको डिपिआर तयार गरिएकाले भविष्यमा एउटै भवनबाट प्रशासनिक कार्यसम्पादनका लागि अरू संरचनाहरु निर्माण गर्न सजिलो हुने क्याम्पसप्रमुख खत्रीले जानकारी दिए ।
क्याम्पस सञ्चालन समितिका अध्यक्ष यामबहादुर थापाले हाल शिक्षा सङ्कायमा पठनपाठन भइरहेको क्याम्पसमा प्राविधिक र व्यवस्थापन सङ्कायसमेत थप गर्नेगरी संरचना थपिने बताए ।
गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्युएए) मान्यताका लागि आवश्यक प्रक्रियामा समेत अगाडि बढेको उनले जानकारी दिए ।
प्रतिक्रिया