जीविकोपार्जनको मुख्य साहारानै भारी

देशका हरेक कुनाबाट सुन्दर भविष्य र पैसा कमाउनका लागि हर कोही काठमाडौं आएका हुन्छन् । यहाँ आएर जीविकोपार्जनका लागि विभिन्न काम गरिरहेका हुन्छन् ।
अर्थात आफ्नो क्षमता अनुसारको काम गर्दछन् । कोही मासिक तलबमा त कोही ठेला गाडामा केही सामाग्री बनाएर बेच्छन् । कोही आफूले सिकेको कामलाई नै व्यवसायको रूपमा परिवर्तन गर्न सफल हुन्छन् । कोही अर्काको काममा व्यस्त र खुसी हुन्छन् त कोही सक्षम भएर पनि काम नपाउँदा निराश हुन्छन् ।
सडक निर्माण अगाडि सामान ओसारपसार गर्ने एक मात्र पेसा र विकल्पका रूपमा भरिया थियो । त्यति बेला भरिया पेसा भरियाहरूका लागि उत्तम र एक मात्र जीविकोपार्जनको माध्यम थियो । तर, सडक निर्माण र सञ्चालनको क्रमिक विकास र बढ्दो सहरीकरणका कारण अहिले भरिया पेसा लोप पनि हुँदै गएको पाइन्छ ।
काठमाडौंमा भेटिने हरेक मानिस हरपल प्राय व्यस्त नै भेटिन्छन् । कोही अरूको कामबाट पनि अत्यधिक कमाइगरी रहेका हुन्छन् त कोही जति नै कमाए पनि असन्तुष्टि हुन्छन् । गाउँघरबाट केही सपनाका पोको बोकेर र सहरिया जीवन बिताउन सडकका हरेक गल्ली र चोक चोकमा अनेक व्यक्तिहरू भेटिन्छन् । त्यही सङ्घर्ष गर्न आएका एक पात्र हुन् कुमार थापा ।
निधारमा नाम्लो र पिठ्युँमा ८० देखि सय किलो सम्म भारी बोकेर परिवार पाल्दै आएका थापा वसन्तपुर आसपासमा २५ वर्ष अगाडि देखि भारी बोक्दै आएका छ । यहाँ भारी बोक्नु भन्दा पहिला टुँडिखेलमा भाँडा मोल्ने काम गरेका थापालाई तलब कम भएका कारण भारी बोकेर अलिक ज्यादा कमाउन मन लागेर भरिया पेसा रोजेको उनको भनाइ छ ।
दोलखामा जन्मिनुभएका थापा ५१ वर्षको हुनुभयो । परिवारको अवस्था दयनीय भएका कारण केही कमाउने आशामा काठमाडौं छिरेका थापा ‘सुरुमा एक सय किलोको भारी बोक्दा दुई रुपैयाँ र केहीले गाडिबाट सामान घरसम्म लगिदिएको पाँच सुका सम्म दिन्थे । २५-२६ वर्ष अगाडि त त्यो पाँच सुकाले पनि अत्यधिक महत्त्व राख्ने उनी बताए ’।
समय र महँगी अनुसार आफ्नो पारिश्रमिक पनि दुई चार रुपैयाँ हुँदै अहिले दैनिकी एक हजार देखि १५ सय सम्म पुगेको छ । थापा भने ‘ भारी त कति बोकियो बोकियो त्यो त सम्झना छैन तर पाँच जना सन्तानलाई पढाउन र सामान्य जीविकोपार्जन गर्न पुगेको छ ’।
यस पेसालाई धेरैले घृणाको दृष्टिकोणले हेरे पनि आफ्ना लागि अपार रहेको उनको भनाइ छ । दुख त हुन्छ नै तर, के गर्नु आफूले गर्न जानेको अरू काम छैन त यसैलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएको छु थापा भने ।
त्यस्तै अर्का भरिया काम गरी रहनुभएका ४८ वर्षीय विष्णु श्रेष्ठ हुन् । सर्लाही–८ का विष्णु २०५८ सालमा काठमाडौं मा आएर कामका लागि भौँतारिए । अलिक ठुला र फराकिला ज्यान भएको कारण साथीले भरिया काम गर्ने सल्लाह दिएपछि यस पेसामा संलग्न भएको उनले बताए । २०५८-५९ सालतिर वसन्तपुरमा भरिया काम गर्दा दिनको दुई सय देखि चार सय सम्म कमाइ हुने गरेको उनको भनाइ छ ।
परिवारको जिम्मेवारी बहन गर्न र सानातिना आवश्यकताहरू पुरा गर्न नसकिने अवस्थामा भरिया पेसा नै मूल साहारा बनेको छ । तर बिस्तारै हुँदै गएको विकासका कारण आफ्ना काम हरू ठप्प हुँदै गएकोमा विष्णु चिन्तित देखिनुहुन्छ । ‘ हरेक क्षेत्र विकास भएको राम्रो हो तर आफ्ना रोजी रोटी खोसिने अवस्थामा पुगेको मा दुख लागेको’ उनले बताए ।
त्यति भन्दै टाढाबाट एउटा मान्छेले हातले इसारा गरेर भारी बोक्न बोलाउँछन् र हातमा नाम्लो बोकेर हिँड्नु हुन्छ कर्म गर्न ।
त्यस्तै अर्को पात्र हुन् । शिव सुनुवार । दोलखामा जन्मिएका सुनुवार २० वर्षको समय भरिया काम गर्दै बिताए । उनले जीवनमा सिकेको पाठ भनेको नै पैसा कमाउने हो । पैसा नै सब थोक हो ।
सामान्य किसान परिवारका सुनुवार लाई जिन्दगीमा गाउँघरको काम भन्दा केही फरक काम गर्न मन भएर काठमाडौं छिरेको बताए । हातका औँला गन्दै भने ‘ उमेरले ४५ वर्षको भइएछ । उफ्, जिन्दगीमा दुखको बोझका साथ कति बोझधारी भारी बोकिए तर दुख हट्ने र सुख आउने पक्रिया कहिल्यै बदलिएन ।’
त्यस्तै त उनले पैसा नै नकमाएको पनि हैन । सुरुवाती चरणमा एक दिनको दुई हजार सम्म हात पार्न सफल हुनुभयो । तर कमाउने क्रम घट्दो अवस्थामा पुगेर अहिले मुस्किले एक हजार हुँदा परिवार पाल्न कठिन भइरहेको उनले बताए । ‘
आम्दानी दिनहुँ एकै किसिमले हुँदैन , कहिले त पानी पिउने पैसा पनि हुँदैन तर एक दिन भएन भनेर दोस्रो दिन नआउने भन्ने हुँदैन भोलीपल्ट दोब्बर पनि हुनसक्छ ’ उनले भने ‘ यो त आशामा अडिएको एक किसिमको व्यवसाय पो हो ’ ।
सदा हिँडी रहेको बाटोमा पनि हिँड्न मिल्दैन कहिले काहीँ, अर्को छेउमा बसेका भरिया श्याम थप्नुहुन्छ ‘ कुन्नि के चाहिएको हो यहाँका प्रहरीहरूलाई यता बाट भारी बोकेर हिँड्न मिल्दैन भनेर पुरै घुमाइदिन्छन् ।
२० मिनेटमा हुने काम लाई एक घण्टा पनि लागेको छ । त्यस्तो हुँदा सामान धनीले तोकेको भन्दा पनि कम पैसा दिने गर्दछन् । यो त हामीहरूको पेटमा लात हानेजस्तै हो श्याम भावुक हुँदै विचार बिसाए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया