आइतबार, वैशाख १६, २०८१

चलचित्रमा नयाँ अनुहार

नेपालखोज २०८० मंसिर १४ गते ९:३१

काठमाडौं । नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन् । अभिनयलाई करियर बनाउन चाहनेको सङ्ख्या बढ्दो चलचित्रबाट थुप्रै नयाँ अनुहार भित्रिदै छन् । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबाब थियो ।

उनीहरुको पोस्टर देख्दा मात्र दर्शक हलसम्म पुग्थे । यद्यपि कथ्य र निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँपुस्ताको आगमन बढिरहेको छ । प्रदीप खड्का, अनमोल केसी, सलिन मान बानियाँ, धीरज मगर, सुहाना थापा, अदिति बुढाथोकी, मिरुना मगर, उपासना सिंह ठकुरी, साम्राज्ञी राज्यलक्ष्मी शाहलाई नयाँ पुस्ताको कलाकार भनिन्छ ।

उनीहरु निर्माता तथा निर्देशकको रोजाइमा पर्ने गरेका छन् । उनीहरुको उपस्थितिले व्यापारमा पनि प्रभाव पर्ने गरेको देखिएको छ । व्यावसायिक सुरक्षाका कारण प्राय निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि केही नयाँ अनुहारले चलचित्रमा पाइला टेकिसकेका छन् भने केही तयारीमा छन् ।

‘नाइँ नभन्नु ल–६’ बाट आशिर्वाद क्षेत्रीले डेब्यु गर्नुभयो । व्यावसायिक रुपमा उहाँको सुरुआत सफल नभए पनि सम्भावना बोकेको कलाकारको रुपमा हेरियो । यही मङ्सिरको अन्तिम साता प्रदर्शन हुने चलचित्र ‘दुई कदम’बाट दुई नयाँ अनुहार इओन लिम्बू र सिमोन गिरीले अभिनयको सुरुआत गर्दै छन् ।

अभिनेता लिम्बू चलचित्रसम्बन्धी अध्ययन गराइने अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन् । उनले आफू सपनालाई साकार गर्न पाउँदा उत्साहित रहेको बताए । ‘डर, उत्साह, खुसी एकैपटक महसुस गरिरहेको छु । अध्ययनको क्रममा प्राप्त गरेको सिकाइलाई प्रयोग गरेको छु’, अभिनेता लिम्बूले भने, ‘पहिलो दिन नै गीतको छायाङ्कन भएकाले नर्भस थिएँ । सम्पूर्ण टिमले सहजता दिलाएपछि काम गरेँ । प्राप्त गरेको अवसरलाई पूर्ण रुपमा प्रयोग गर्ने कोसिस गरेको छु ।’

उदय सुब्बाको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता लिम्बू र अभिनेत्री गिरीसँगै सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, वुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । आगामी पुस २७ गते प्रदर्शन घोषणा गरिएको ‘पर्खी बसेँ तिमीलाई’ मार्फत अभिनयमा रक्षा बुढाथोकी र किरण श्रेष्ठले सुरुआत गर्दै छन् ।

दीपक श्रेष्ठले निर्देशन गर्नुभएको चलचित्रमा युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको अभिनेत्री बुढाथोकीले बताए । ‘मैले चलचित्रमा रिमेक गरिएको कालो चस्मा बोलको गीतमा नृत्य गरेँ । बाल्यकालमा स्कुलमा धेरै पटक उक्त गीतमा प्रस्तुति दिएको थिएँ’, ‘अभिनेत्री बुढाथोकीले भने, अभिनयमा रूचि हुनेलाई अहिले सहज भएको छ । हामीले आफ्नो सपनाको बारेमा खुलेर घरमा भन्न सकेका छौँ ।’

पुसमै प्रदर्शन हुने चलचित्र ‘चित्रा’मार्फत सन्तोष अधिकारीले पनि अभिनय सुरू गरेका छन् । नेपाली चलचित्रको अन्य विधामा सक्रिय रहेका अधिकारीले आफू सुहाउँदो भूमिका पाएकै कारण नयाँ यात्राको सुरुआत गरेको बताए । ‘मैले इभेन्ट गर्नुका साथै केही चलचित्रको निर्माण समेत गरेँ । साङ्गीतिक श्रव्यदृश्यमा काम गरिसकेपछि मलाई चलचित्रमा प्रस्ताव आयो । सक्छु भन्ने लागेर अभिनय गरे’, अभिनेता अधिकारीले भने ।

निर्माण शैलीमा परिवर्तन आएसँगै चलचित्र भवनमा नयाँपुस्ता दर्शक बनेर छिरेझैँ चलचित्रमा पनि नयाँ पुस्ताको आकर्षण देखिन्छ । यसमा कोही पढेर आएका छन् त कोही परेर । तर जसरी आए पनि कामले प्रभावित गर्न सक्दा नेपाली चलचित्र क्षेत्र र नयाँ कलाकार दुवैको भविष्य उज्जवल रहेको निर्देशक पुर्नेन्दु झाले बताए ।

‘नयाँपुस्ताले चलचित्रको विभिन्न विधामा रुचि देखाउनु र अध्ययन गरेर आउनुले यस क्षेत्रको भविष्य उज्वल रहेको सङ्केत गर्छ । उनीहरुको सक्रियताले नेपाली चलचित्र अझै परिवर्तन हुनेमा विश्वस्त छु । सफल र असफल जे हुँदा पनि निरन्तरता भने दिनुपर्छ’, निर्देशक झाले भने ।

पहिलो निर्देशकीय चलचित्रमा अभिनेता सौगात मल्ल, निखिल उप्रेतीजस्ता स्थापित कलाकारसँग काम गरेका निर्देशक झाले तेस्रो चलचित्रमा नयाँ कलाकारलाई अनुबन्धित गर्ने बताए । उनले चलचित्रमा नयाँ अनुहारको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया