बुधबार, फागुन ९, २०८०

केपी ओली कप – मधेश प्रदेशलाई उपाधी

नेपालखोज २०८० मंसिर १५ गते १६:०८

काठमाडौं । केपी ओली कप ट्वान्टी २० प्रतियोगिताकाे उपाधी मधेश प्रदेशले जितेकाे छ । कप्तान हरिशंकर शाहको अलदराउन्ड प्रदर्शनप्रेरित मधेश प्रदेशच्याम्पियन बनेको हाे ।

मधेशले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको हो ।

मधेशले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १ सय २४ रन मात्र बनाउन सक्यो ।

आर्मीका कप्तान विनोद भण्डारीले ३२, विवेक यादवले अविजित २५, भीम सार्कीले २२, सोमपाल कामीले अविजित १६ र सान्तोष कार्कीले १६ रन बनाए ।

मधेशका लागि हरिशंकरले चार, प्रदीप पासवानले दुई तथा प्रतिक यादवले एक विकेट लिए ।

त्यसअघि टस जितर ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेशका लागि विशाल पटेलले ३२ बलमा समान तीन चौका र छक्काको मद्दतले अविजित ४९ रनको योगदान गरे । यसैगरी हरिशंकर शाहले २७, हिमान्शु दत्तले १४ र विशाल शुस्लिङ्गले १० रन बनाए ।

आर्मीका लागि विवेक यादव र शाहब अलमाले समान तीन सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिए । 

सेमिफाइनलमा मधेशले नेपाल एपिएफ क्लबलाई ११ रन तथा आर्मीले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेका थिए ।

प्रतियोगिताको विजेता मधेशले ५ लाख तथा उपविजेताको आर्मीेले  २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । मंसिर ६ गतेबाट सुरु भएको प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका दुई टिम सहभागिता थियो।

प्रतिक्रिया