टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर

काठमाडाैं । उच्च अदालत पाटनले टोपबहादुर रायमाझी, इन्द्रजित राई र टेकनारायण पाण्डे लगायतलाई थुनामै राख्ने आदेश सदर गरेको छ। उनीहरुले धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो । भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा न्यायाधीशहरूबीच मत बाझिएको छ। यसबारेमा अर्को इजलासले निर्णय गर्ने पनि भट्टराईले बताउनुभयो।
खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। त्यस्तै हज समितिका अध्यक्ष रहेका शमशेर मियाँलाई पनि १० लाख रुपैयाँ, एमाले नेता टोपबहादुरका छोरा सन्दिपसँग ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ। साथै रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटी माग गर्ने अदालतले आदेश दिएको छ।
लक्ष्मी महर्जन र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ। यसअघि काठमाडौं जिल्ला अदालतले महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। उनीहरुले आफूलाई धरौटीमा छाड्नुपर्ने दाबी गर्दै जिल्ला अदालत काठमाडौंको आदेशबिरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। – INS

प्रतिक्रिया