सोमबार, फागुन २१, २०८०

एनसेलले गर्याे सेयर कारोबारका लागि सम्झौता भएको घोषणा

नेपालखोज २०८० मंसिर १६ गते ११:११

काठमाडौं । स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको छ । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभीसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिनेछ ।

एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्डस् होल्डिङ्सँग रहेको छ । स्पेक्ट्रलाइट एनसेलका सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि गर्न र डिजिटल आविष्कारहरूका साथ एनसेललाई अगाडि बढाउन प्रतिबद्ध छ ।

स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन् । उनी सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन् । उनी भन्छन् एनसेलको सेयर होल्डिङको लागि यो सम्झौताको घोषणा गर्न पाएकोमा स्पेक्ट्रलाइट निकै खुसी छ । दूरसञ्चार क्षेत्रको मेरो वृहद् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौ ग्राहकलाई विभिन्न परिस्कृत सेवा प्रदान गर्न हामी प्रतिबद्ध छाैँ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘एनसेलको स्वामित्वमा आगामी दिनमा हुने परिवर्तन देखि हामी खुसी छाैँ र नयाँ लागानीकर्तासँग काम गरी एनसेललाई डेटा र सञ्चार पुर्वाधारको एक नेपाली कम्पनीका रुपमा अघि बढाउन हामी तत्पर छाैँ । आगामी दिनमा कम्पनीको परिष्कृत योजनाहरु घोषणा गदै सेवाहरूको दायरा फराकिलो बनाइने छ जसले यो कम्पनीलाई एक प्रमुख डिजिटल सेवा प्रदायक तथा डेटा सेवा प्लेटफर्म बनाउनेछ ।’
एनसेलको बारेमा :

एनसेल नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डोर्याइरहेको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८/७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्याउन प्रतिबद्ध छ ।

प्रतिक्रिया