शुक्रबार, जेठ ४, २०८१

पुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी

नेपालखोज २०८० मंसिर १८ गते ८:४६

म्याग्दी । हिमाल, पहाडी भूूगोल, सुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो ।

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ ।

यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिम चुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुनु ।

पुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुराँसको जङ्गलको पृष्ठभूमिमा हिमाल अवलोकन गर्न पाउँदा उमङ्गको महसुस भएको कास्कीको पोखराका सुमन गिरिले बताए ।

घोडेपानीमा बास बसेका पर्यटक एका बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुुनहिलमा दृष्य अवलोकन गर्न पुुग्छन् । घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीले बताएका छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरादेखि नयाँ पुल, उल्लेरी भएर एकै दिन र घान्द्रुक भएर दुई दिनमा घोेडेपानी पुग्न सकिन्छ । म्याग्दीको जिल्ला सदरमुकाम बेनीदेखि अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर हुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुगिन्छ ।

चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा गएको साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ ।

साउनमा नौ सय ७६, भदौमा नौ सय ९३, असोजमा तीन हजार एक सय ११, कात्तिकमा पाँच हजार सात सय ७९ र मङ्सिरमा १० गतेसम्म एक हजार पाँच सय दुई जनाले भ्रमण गरेको कार्यालयका इञ्चार्ज प्रहरी सहायक निरीक्षक तारा बुढा मगरले जानकारी दिए । उनका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रेहुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्याङ्क कार्यालयले राख्दै आएको छ ।

पहिले विदेशी पर्यटकको तथ्याङ्क मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको समेत तथ्याङ्क राख्ने गरिएको छ । घोडेपानीमा पर्यटक याममा मासिक दुईदेखि तीन हजारसम्म आन्तरिक पर्यटकलेसमेत भ्रमण गर्छन् ।

घोडेपानीमा असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । विगतका वर्षको तुलनामा यसवर्ष पर्यटकयाममा कम सङ्ख्यामा विदेशी पर्यटक आएको घोडेपानीका होटल व्यवसायी जुली ठकुरी पुनले बताए ।

‘अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्ग भत्किएका छन्, धुलो, धुँवाको कारण विदेशी पर्यटक आउनेक्रम घट्दो छ’, होटल व्यवसायीसमेत रहनुुभएका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले भने, ‘केही मात्रामा आन्तरिक पर्यटकको चहलपहल भए पनि दिगो नहुँदा समस्या भएको छ ।’

मन्त्रालयको कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रर्वद्धनका साथै विकास आयोजनाको आवश्यकता महशुुस गराउन सरकारको ध्यानाकर्षण गराउन सहयोग पुगेको पुनहिल घोडेपानी अवस्थित अन्नपूर्ण गाउँपालिकाको ६ नम्बर वडाका अध्यक्ष रामबहादुर खड्काले बताए । सरकारी तवरबाट घोडेपानीमा हालसम्मकै ठूलो कार्यक्रम भएको पनि उनले बताए ।/rss

प्रतिक्रिया