सामुद्रिक आँधी मिचाउङको प्रभाव, वर्षा र हिमपातकाे सम्भावना

नेपालखोज २०८० मंसिर १९ गते ६:२५

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै देशको पूर्वी भू-भागमा बंगालको खाडीको मध्य-पश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार हाल कोशी र लुम्बिनी प्रदेशको साथै देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।  आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ तथा देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाखाले जनाएकाे छ ।

प्रतिक्रिया