मंगलबार, वैशाख ३०, २०८२

निर्माण नसकिँदै पक्की पुल दोस्रो पटक भत्किन थाल्यो

नेपालखोज २०८० मंसिर १९ गते १५:४०

कटारी (उदयपुर) । कटारी नगरपालिका-३ हडैयास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको हडैया खोलामा निर्माणाधीन पक्की पुल दोस्रो पटक भत्कन सुरु भएको छ ।

हडैया खोलामा निर्माण भइरहेको करिब ६० मिटर लामो उक्त पुलको पश्चिमतर्पmको ‘जोइन्ट’बाट पुल भत्किन थालेको स्थानीय मानबहादुर तामाङले बताए । यो पुल निर्माण सुरु भएको आठ वर्ष हुन लाग्यो । यसअघि २०७५ सालमा यो पुलको दुई स्ल्याबमध्ये एउटा भत्किएको थियो ।

सडक डिभिजन कार्यालय सिरहा, लहानका इञ्जिनियर सञ्जीव दासले राम्रो जडान नहुँदा चर्किएर भत्किन थालेको बताए । स्थानीयवासीले पुलमा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेका कारण पटक-पटक भत्कन थालेको आरोप लगाएका छन् ।

विसं २०७३ देखि राजेन्द्र जगदम्बा गल्या जेभी प्रालि निर्माण कम्पनीले निर्माण सुरु गरेको उक्त पुल २०७५ सालभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । निर्माण नसकिएपछि पटक–पटक म्याद थपिए पनि अझै पुल निर्माण सकिएको छैन ।

प्रतिक्रिया