सोमबार, वैशाख २४, २०८१

‘११:५५’ निर्माण घोषणा

नेपालखोज २०८० मंसिर २१ गते २०:४८

काठमाडौं । नेपाली चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै केशव पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गर्ने जानकारी गराइएको हो ।

कलाकारसँगै पटकथा लेखकसमेत रहेका अग्रजले नेपाली चलचित्रमा केही फरक गर्ने प्रयास गरिएको बताए । उनले भने, ‘क्राइम, सस्पेन्स र थ्रिलर विधालाई मिश्रण गरेर चलचित्रको पटकथा तयार भएको छ । अहिले आइरहेको भन्दा फरक गर्ने प्रयासमा यो समूह तयार गरिएको छ ।’

यसै चलचित्रमार्फत निर्देशकीय यात्रा प्रारम्भ गर्न लागका निर्देशक पाण्डेले आफूलाई राम्रो दर्शकको रूपमा परिचय गराए’ । ‘म धेरै चलचित्र हेर्छु । विगत दुई दशकदेखि चलचित्र निर्माण गर्ने योजनाअनुरुप आफूलाई तयार गरिरहेको थिएँ’, निर्देशक पाण्डेले भने, ‘यसमा कलाकारलाई नभई पात्रलाई दर्शकले स्मरण गर्नेछन् । यसको हिरो नै कलाकार नभई कथा हो ।’ अभिनेता महेश त्रिपाठीले पछिल्ला चलचित्रमा निर्वाह गरेको भूमिकाभन्दा भिन्न पात्र र विधा भएकाले सहकार्य सम्भव भएको बताए ।

‘यसको विषयवस्तुमा नयाँपन हुनुका साथै कलाकारलाई दिइएको पात्र फरक छ । निर्देशक वा निर्माण समूह नयाँ देखिए पनि काम अनुभवीभन्दा कम छैन’, अभिनेता त्रिपाठीले भने । अभिनेत्री श्रेष्ठले छायाँकन अगाडि भएको कार्यशालाले पात्रलाई जीवन्त बनाउन मद्दत गरेको बताइन् । ‘मैले कथा पढ्दा नै अगाडि के होला ? भन्ने जिज्ञासा हुन्थ्यो । आफ्नो भूमिकामार्फत अभिनय क्षमता देखाउने प्रशस्तै अवसर छ । यसले मेरो करिअरमा नयाँ आयाम थप्नेमा विश्वस्त छु’, अभिनेत्री श्रेष्ठले भनिन् ।

यसै चलचित्रमार्फत अभिनय यात्राको प्रारम्भ गर्न लाग्नुभएका अभिनेता सागर खनालले चलचित्रसम्बन्धी अध्ययनका क्रममा सिकेका विषय अभिनयमार्फत पर्दामा ल्याउने बताए । विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्टस्को सहकार्यमा बन्ने चलचित्रको छायाँकन शनिबार बेलुकी ११ः५५ बजेदेखि सुरु गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

चलचित्रमा प्रद्युम्न मिश्रले छायाँकन, पासाङदावा शेर्पाले सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यले सङ्गीत, कविराज गहतराजले नृत्य निर्देशन, देव महर्जनले द्वन्द्व निर्देशन र सुवासराज काफ्लेले प्रोडक्सन डिजाइनरको भूमिका निर्वाह गर्नेछन् । यसको छायाँकन तालिका ३५ दिन राखिएको छ ।

प्रतिक्रिया