वायु प्रदूषणको विनाशकारी चक्र अन्त्य गर्न प्रतिबद्धता

काठमाडौं । काठमाडौं महानगरपालिकासहित विश्वका आठ ठूला सहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदूषणको विनाशकारी चक्र र सहरी केन्द्रमा यसको गहिरो जोखिमको प्रभाव अन्त्य गर्न संयुक्त प्रतिबद्धता जनाएका छन् ।
यसरी प्रतिबद्धता जनाउने सहरमा नेपालको काठमाडौं महानगरपालिका, अमेरिकाको सिकागो, रोमानियाको बुखारेस्ट, ब्राजिलको फोर्टालिजा, इन्डोनेसियाको जकार्ता, बङ्गलादेशको ढाका, रवङ्दाको कीगाली र उगान्डाको काम्पला छन् ।
संयुक्त अरव इमिरेट्समा संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी २८औँ सम्मेलन (कोप–२८) जारी रहँदा स्वस्थ सहरका लागि साझेदारी (पार्टनरसीप फरहेल्दी सिटिज) को विश्व सञ्जालमा आवद्ध सहरका प्रमुखले यस्तो प्रतिबद्धता जनाएको हो ।
आठ देशका प्रमुखले बुधबार सार्वजनिक संयुक्त प्रतिबद्धता पत्रमा भनिएको छ, जनसङ्ख्याको आकार र चुनौतीसँगको निकटताले, सहरहरुले परिवर्तनको उदाहरणीय नेतृत्व गर्न सक्ने प्रचुर सम्भावना बोकेका छन् ।
कोप २८ मा विश्व नेता भेला भइरहँदा, हामी विश्वभरका सहरलाई वायु अनुगमनका प्रभावकारी कार्यक्रम अपनाउन नागरिकको जीवन सुधार गर्न सार्वजनिक स्वास्थ्यकार्य प्रवद्र्धन गर्न आह्वान गर्दछौँ । सो अवसरमा कामपाका प्रमुख बालेन्द्र साह (बालेन) ले वायु गुणस्तर अनुगमन सञ्जाललाई सुदृढ गरेर भरपर्दाे नीतिसहित विद्यमान वायु प्रदूषण न्यूनीकरण गर्ने नीति रहको बताए ।
बङ्गालादेशको ढाका उत्तर नगरका प्रमुख मोहम्मद अतिकूल इस्लामले आफ्नो सहरले प्रदूषणमापन यन्त्र जडान गरेर वायु गुणस्तर निगरानीलाई थप बलियो बनाउँदै प्रभावकारी जनस्वास्थ्य नीति अवलम्बन रहेको जानकारी दिए । सिकागो सहरका प्रमुख ब्राण्डन जोन्सनले आफ्नो सहरले समुदायस्तरमा वायु प्रदूषण अनुगमन रणनीति विकास भएपछि पर्यावरणीय न्यायमार्फत आर्थिक योगदान गरिरहेको उल्लेख गरेकाे छ ।
वायु प्रदूषणको अवस्था ठाउँअनुसार फरक हुने बताउँदै उनले अनुगमन रणनीतिका बारेमा समुदायस्तरमा समान बुझाइ विकास गर्न ध्यान दिएको बताउनुभयो । सार्वजनिक स्वास्थ्यमा बढ्दै गएको प्रभाव र जोखिम घटाउन, सहरलाई स्वस्थ्य बनाउन आफूहरु साझेदारी अंशको रूपमा रहेको प्रमुखको भनाइ छ ।
नसर्ने रोगबाट हुने मृत्यृको रोकथाम गर्दै सुरक्षित, उत्थानशील, अधिक लचिलो र अधिक समान सहर निर्माणमा आफूहरुले साझा सङ्कल्पका साथ काम गरिरहेको उनीहरुको भनाइ छ । जनस्वास्थ्य र वातावरणका लागि वायुप्रदूषण सबैभन्दा ठूलो जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठनले औँल्याएको छ । यसका कारणबाट वार्षिक ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।
प्रतिक्रिया