स्वर्ण पदक विजेता गुरुङको सम्मान

दमौली । काठमाडौंमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता देवघाट गाउँपालिका–५ गैडाढुङ्गा निवासी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद २५ हजारसहित सम्मान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई २५ हजार नगद र प्रमाणपत्र प्रदान गरे । कराँते प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाल तथा देवघाट गाउँपालिकाको नाम राख्न सफल भएकाले प्रोत्साहनस्वरुप सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।
उनले भने, ‘उनले खेलकुदमार्फत पालिकाको नाम राख्न सफल हुनुभएको छ । खेलाडीलाई प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरेका हौँ ।’ सम्मानित भएपछि गुरुङले यसले आफूलाई प्रेरणा मिलेको बताए । गुरुङले ४५ केजीमुनिको समूहमा बङ्गलादेशकी अर्पा सलिहालाई हराउँदै स्वर्ण पदक जितेका थिए ।
प्रतिक्रिया