जनतालाई राहत र ऋणीलाई सहुलियतका कार्यक्रम ल्याउनुपर्छ : अध्यक्ष नेपाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्रमा देखिएको सङ्कटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले अर्थतन्त्र कामचलाउको अवस्थामा छ भनेर चित्त बुझाएर बस्न नहुने उल्लेख गरे ।
उनले भने, ‘विभिन्न कारणले धेरै व्यवसायीको हालत खराब भएको छ । ऋणको ब्याज बढेको छ । ऋण तिर्न नसकेर गम्भीर सङ्कटमा परेका व्यवसायीलाई ऋण चुक्ता गर्ने समय बढाएर हुन्छ वा ब्याजदर घटाएर हुन्छ राहत तथा लगानीकर्ता र ऋणीलाई सहुलियत दिनेबारे सरकारले सोच्नु पर्दछ ।’ अध्यक्ष नेपालले जनताका पीडा समाधान गर्ने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिए ।
उनले बेथिति र विसङ्गति अन्त्यका लागि पटक–पटक आफ्नो पार्टीले सरकारको ध्यानाकर्षण गर्दैआएको बताए । उत्पादन वृद्धि गर्ने र युवालाई स्वदेशमै रहने वातावरण निर्माण गरिनुपर्नेमा उहाँले जोड दिए । एकीकृत समाजवादी चुनौती सामना गर्ने आँट राखेर सबै शक्तिलाई एकताबद्ध बनाएर अघि बढिरहेको अध्यक्ष नेपालले स्पष्ट पारे । रासस
प्रतिक्रिया