बिहीबार, पुष ३, २०८२

जीवाश्म इन्धनको चरणबद्ध अन्त्यलाई विफल बनाउने ओपेकको प्रयासको आलोचना

नेपालखोज २०८० मंसिर २३ गते १७:१४

दुबई । पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको सङ्गठन (ओपेक)ले शनिबार कार्यकर्ताहरू र महत्त्वाकांक्षी जलवायु कार्य खोज्ने मुलुकहरूको गठबन्धनबाट आलोचनाको सामना गर्नुपरेको छ । आफ्ना सदस्यहरूसँग कोप२८ सम्मेलनमा जीवाश्म इन्धनलाई लक्षित बनाउने कुनै पनि सम्झौतालाई असफल बनाउन आग्रह गरेपछि उसले त्यस्तो आलोचनाको सामना गर्नुपरेको हो ।

दुबईमा जलवायु वार्तामा वार्ताकारहरूले जीवाश्म इन्धनलाई चरणबद्ध अन्त्य गर्ने प्रस्तावसहितको एउटा मस्यौदा सम्झौता तयार गरेपछि ओपेकका महासचिव हैथम अल घैसले यसै साता समूहका १३ सदस्य र रुसी नेतृत्वको १० सहयोगीलाई पत्र पठाएका थिए ।

बारबाडोसदेखि फ्रान्स, केन्या र प्रशान्त टापु राज्यहरूसम्मको बृहत् समूह (हाई एम्बिसन कोलिसन) ले पनि ओपेकको कदमको आलोचना गरेको छ । उनले विश्वको तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य वार्तायोग्य नभएको भन्दै जीवाश्म इन्धनको अन्त्य नै वार्तायोग्य हुनुपर्ने बताए । बुधबार पठाइएको पत्रमा घैसले भन्नुभएको छ, ‘मस्यौदा निर्णयमा अहिले पनि जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले समाप्त गर्ने विकल्प समावेश भएकाले जीवाश्म इन्धनहरू विरुद्धको अनुचित र असमान दबाव अपरिवर्तनीय परिणामहरूका साथ चरम विन्दुमा पुग्छ जस्तो लागेको छ ।’

उनले २३ सदस्य र सहयोगीहरूलाई उत्सर्जनको सट्टा ऊर्जा अर्थात जीवाश्म इन्धनलाई लक्षित गर्ने कुनै पनि मस्यौदा वा सूत्रलाई सक्रियरूपमा अस्वीकार गर्न आग्रह गरे । इराकको तेल मन्त्रालयका प्रवक्ता असेम जिहादले आफ्नो देशले ओपेकको पत्रलाई ‘समर्थन’ गरेको एएफपीलाई बताए ।

उनका अनुसार इराकी तेलमन्त्री हयान अब्देल गनीले कोप२८ मा आफ्नो मुलुकका प्रतिनिधिमण्डलसँग अन्तिम वक्तव्यको शब्दले वातावरण र जलवायु जोगाउनका लागि उत्सर्जन घटाउन विश्व सहयोगमा जोड दिन्छ वा दिँदैन भन्ने कुरा सुनिश्चित गर्न आग्रह गरे । मन्त्री गनीले जीवाश्म इन्धनलाई लक्षित गर्ने प्रयास र उत्पादक मुलुक तथा उनीहरूको जनसङ्ख्याको अधिकारको उल्लङ्घनलाई अस्वीकार गरेका छन् । रासस/एएफपी

प्रतिक्रिया